नेभिगेशन
नेपाल प्रहरी

असई नवीन नेतृत्वको टोलीलाई ठूलो सफलता, ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

नेपालगञ्ज । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, नेपालगञ्जको टोलीले ठूलो परिमाणमा खैरो हेरोइनसहित दुई महिलालाई पक्राउ गरेको छ। ब्यूरो इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) नवीन कुमार शाहीको कमाण्डमा खटिएको टोलीले नेपालगञ्जबाट एकैपटक ४०० ग्राम खैरो हेरोइनसहित दुई महिलालाई पक्राउ गर्न सफल भएको हो।

असई नवीन कुमार शाही

पक्राउ पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ निवासी ३३ वर्षीया ललिता बुढाथोकी र मुसिकोट नगरपालिका–१३ निवासी २४ वर्षीया निशा पुन मगर रहेकी छन्।

लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार विशेष सूचनाका आधारमा साउन ६ गते राति साढे ८ बजे बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित बिट रेष्टुरेन्ट क्याफे अगाडि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।

कानुनबमोजिम शरीर खानतलासी गर्दा निशा पुन मगरले लगाएको जिन्सको हाफ पाइन्टको दाहिने खल्तीभित्र लुकाइराखेको अवस्थामा शुद्ध तौल ४०० ग्राम खैरो हेरोइन बरामद गरेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। साथै घटनास्थलबाट तीन थान मोबाइल फोन समेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोबाइलसहित आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

ब्यूरो इन्चार्ज असई शाहीको नेतृत्वमा रहेको टोलीले पछिल्लो समय नेपालगञ्ज तथा आसपासका क्षेत्रमा लागूऔषध ओसारपसार र कारोबारमा संलग्न गिरोहमाथि निरन्तर निगरानी र कारबाही गर्दै आएको छ। विभिन्न सफल अपरेसनमार्फत ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै कारोबारीहरूलाई कानुनी दायरामा ल्याउन टोली सफल हुँदै आएको छ।

यसपटकको ४०० ग्राम खैरो हेरोइन बरामद पनि नेपालगञ्ज क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्