नेभिगेशन
नेपाल प्रहरी

नेपालगञ्जमा मोटरसाइकल चोरको संगठित गिरोह पक्राउ, नम्बर प्लेट फेरेर बेच्ने धन्दा पर्दाफास

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले मोटरसाइकल चोरीमा संलग्न संगठित गिरोहका पाँच जनालाई पक्राउ गर्दै चोरी भएका दुई वटा मोटरसाइकल बरामद गरेको छ।

प्रहरीका अनुसार असार ९ गते दिउँसो करिब १:५० बजे नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित रेट्रो क्याफेको गेटबाहिर पार्किङ गरी राखिएको भे ११ प ६८२७ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी भएको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा असार १ ९ गते साँझ करिब ७ बजे चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरी चलाइरहेका बाँकेको कोहलपुर नगरपालिका–७ का २३ वर्षीय इन्द्र प्रसाद थारू र नेपालगञ्ज उपमहानगरपालिका–२० का २० वर्षीय सन्जु रेश्मी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

थप अनुसन्धानबाट उक्त मोटरसाइकल डुडुवा गाउँपालिका–४ का २२ वर्षीय समीर बागवानले चोरी गरेको खुलेको बाँके प्रहरीले जनाएको छ। चोरीपछि मोटरसाइकललाई नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित जे.के. स्टिकर हाउसमा लगेर नम्बर प्लेट परिवर्तन गरिएको र त्यसमा उक्त स्टिकर हाउसका सञ्चालक जानकी गाउँपालिका–१ घर भई नेपालगञ्ज–१८ बस्ने २० वर्षीय जाकिर हुसेन कवडियाको संलग्नता रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानलाई थप विस्तार गर्ने क्रममा प्रहरीले साउन ११ गते चोरी गरी बिक्री गरिएको भे ७ प ७७७८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल सहित डुडुवा गाउँपालिका–३ का २६ वर्षीय सैमुद खाँलाई समेत पक्राउ गरेको प्रहरीले  जनाएको छ। घटनामा प्रयोग भएका भे ११ प ६८२७ नम्बरको होण्डा साइन र भे ७ प ७७६८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिएका छन्।

प्रहरीले पक्राउ परेका पाँचै जनाविरुद्ध म्याद थप गरेर मोटरसाइकल चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्