नेभिगेशन
नेपाल प्रहरी

अवैध हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार र सयौं राउण्ड गोली बरामद

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो तीन महिना (वैशाख १ गतेदेखि असार मसान्तसम्म) देशभर सञ्चालन गरेको विशेष अभियानका क्रममा अवैध हातहतियार सम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीका अनुसार पक्राउ परेकामध्ये काठमाडौं उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट १० जना तथा सुदूरपश्चिम प्रदेशबाट ५ जना रहेका छन्।

पक्राउ परेका व्यक्तिहरूबाट २ थान चाइनिज पेस्तोल, २ थान पेस्तोल, १ थान रिभल्वर, ९ थान कटुवा पेस्तोल, ४१ थान भरुवा बन्दुक, ९ थान बन्दुक र ३ थान एयरगन गरी कुल ६७ थान हातहतियार बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस्तै, उनीहरूबाट चाइनिज पेस्तोलका ४ राउण्ड, एसएलआरका २ सय ६३ राउण्ड, कटुवा पेस्तोलका १४ राउण्ड तथा विभिन्न प्रकारका बन्दुकमा प्रयोग हुने ७० राउण्ड गोली समेत बरामद भएको छ।

नेपाल प्रहरीले अवैध हातहतियारको कारोबार तथा प्रयोगलाई नियन्त्रण गरी अपराधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ देशव्यापी रूपमा विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

प्रहरीले अवैध हातहतियार सम्बन्धी सूचना संकलनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै कसैले अवैध हतियार लुकाइराखेको वा प्रयोग गरिरहेको जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन तथा स्वेच्छाले अवैध हतियार बुझाउन पनि सर्वसाधारणसँग अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्