नेभिगेशन
नेपाल प्रहरी

प्रहरी देखेपछि बोरा फालेर भागे, अनि बरामद भयो ९१ किलो गाँजा

काठमाडौं ।  प्रहरीले ९१ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेका अन्य चार जना भने फरार भएका छन्।प्रहरीका अनुसार गए राति गस्तीमा खटिएको टोलीले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका–४ स्थित सिमरा बलान खोलाबाट गाँजासहित भगवानपुर गाउँपालिका–४ जमुवाटोलका ४३ वर्षीय मोहन साहलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय सिराहा र महेशवारीबाट संयुक्त रूपमा परिचालित गस्ती टोलीले पाँच जनाको समूहलाई कपडाको नाम्लो प्रयोग गरी टाउकोमा बोरा बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो। प्रहरीलाई देखेपछि उनीहरूले बोरा फालेर भाग्ने प्रयास गरेका थिए।

सो क्रममा प्रहरीले मोहन साहलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालले जानकारी दिए। भाग्ने क्रममा फालिएका बोराहरू खानतलासी गर्दा ९१ किलो गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिराहामा राखिएको छ।

घटनामा संलग्न रहेको भनिएका भगवानपुर गाउँपालिका–४ जमुवाटोलका ४३ वर्षीय कलेन्द्र यादव, ब्रह्मदेव यादव तथा पहिचान खुल्न बाँकी अन्य दुई जनाको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्