नेभिगेशन
विपद्

रसुवा बाढीमा फसेका ११० जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण विभिन्न स्थानमा फसेका ११० जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गरी जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सारिएको हो।

उद्धार गरिएकामध्ये धुन्चे क्षेत्रबाट सबैभन्दा धेरै ८५ जनालाई निकालिएको छ। यस्तै, टिमुरेबाट १३, मैलुङबाट पाँच, बेतावत्रीबाट चार र त्रिशूली क्षेत्रबाट तीन जनाको उद्धार गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीको प्रभाव रसुवासँगै नुवाकोट, धादिङ र चितवनसम्म परेको छ।

बाढीका कारण कतिपय स्थानमा सडक तथा पुलमा क्षति पुगेपछि स्थलमार्गबाट तत्काल उद्धार गर्न कठिन भएपछि हेलिकप्टर परिचालन गरिएको हो। जोखिममा रहेका अन्य नागरिकको खोजी तथा उद्धार कार्यसमेत जारी रहेको जनाइएको छ।

यसअघि बाढीबाट रसुवा, नुवाकोट र धादिङमा मानवीय क्षतिसमेत भएको विवरण सार्वजनिक भइसकेको छ। बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा उद्धार टोली परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्