काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि दर्जनौ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै टिमुरे र मैलुङ क्षेत्रमा खटिएका ७९ सुरक्षाकर्मीहरूसँग सम्पर्क हुन नसकेको जानकारी दिएका हुन्।
मन्त्री खनालका अनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २६ र सशस्त्र प्रहरी बलका ९ जना रहेका छन्। बाढीका कारण उनीहरू खटिएका क्षेत्र तथा संरचनामा क्षति पुगेपछि सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ।
यस्तै, रसुवागढी भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी र केही स्थानीय बासिन्दासमेत सम्पर्कविहीन रहेको मन्त्री खनालले संसद्लाई जानकारी दिएका छन्।
सम्पर्कविहीन सुरक्षाकर्मी तथा अन्य व्यक्तिको खोजीका लागि सुरक्षा निकायका टोली परिचालन गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्रता दिएका छन्।
बाढीका कारण सडक तथा पुलमा समेत क्षति पुगेकाले कतिपय स्थानमा स्थलमार्गबाट उद्धार गर्न कठिन भएको छ। त्यसैले नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरसमेत परिचालन गरी जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
बुधबार भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीको प्रभाव नुवाकोट, धादिङलगायतका क्षेत्रमा समेत परेको छ।
बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म १६ जनाको शव फेला परेको विवरण सार्वजनिक भएको छ।
यसैबीच, केहीबेर अघिसम्म नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरमार्फत रसुवाका विभिन्न स्थानमा फसेका ११० जनाको उद्धार गरिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चेबाट ८५, टिमुरेबाट १३, मैलुङबाट पाँच, बेतावत्रीबाट चार र त्रिशूली क्षेत्रबाट तीन जनाको हवाई उद्धार गरिएको हो।