काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि प्रभावित क्षेत्रमा रहेका ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डको दोस्रो अद्यावधिक विवरणअनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक छन्।
पर्यटन तथा ट्राभल व्यवसायीबाट प्राप्त विवरणअनुसार १० वटा ट्राभल एजेन्सीमार्फत रसुवा क्षेत्रमा पुगेका पर्यटकहरू बाढीपछि सम्पर्कमा आउन नसकेका हुन्। तीमध्ये ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना सबैभन्दा बढी छन्। उनीहरूमा ७७ विदेशी र १५ नेपाली रहेका छन्।
सम्राट टुर्स एन्ड ट्राभल्समार्फत गएका ७१ जना, लिफ हलिडेका ५५ जना र हिमालयन ग्लेसियरका ५२ जना पनि सम्पर्कविहीन छन्। सम्राटका ५९ भारतीय र १२ नेपाली, लिफ हलिडेका ४६ भारतीय र ९ नेपाली तथा हिमालयन ग्लेसियरका ३७ गैरआवासीय भारतीय र १५ नेपाली रहेको बोर्डले जनाएको छ।
यसैगरी कैलाश जर्नीका ३१, फिसटेल टुर्स एन्ड ट्राभल्सका २७, अल्पाइन इको ट्रेकका २०, काठमाडौँ हलिडे टुर्स एन्ड ट्राभल्सका १७, रिचा टुर्स एन्ड ट्राभल्सका १२ र एक्सप्लोर भ्याकेसनका ७ जना पर्यटकको अवस्था अझै सम्पर्कमा आउन सकेको छैन।
सम्पर्कविहीन विदेशी पर्यटकहरू भारतसहित अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिक रहेको बोर्डले जनाएको छ। कैलाश जर्नी, ट्रेकर्स सोसाइटी र रिचा टुर्समार्फत गएका १११ जना विदेशीको राष्ट्रियता भने खुल्न बाँकी छ।
बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको अवस्था पहिचान गर्न पर्यटन बोर्ड, पर्यटक प्रहरी, ट्राभल एजेन्सी, स्थानीय प्रशासन र सुरक्षा निकायले संयुक्त रूपमा खोजी तथा समन्वय गरिरहेका छन्। सम्पर्कविहीनको विवरण प्राप्त भएपछि सम्बन्धित निकायमार्फत रुजु गर्ने काम भइरहेको बोर्डले जनाएको छ।
आपत्कालीन सहयोग तथा जानकारीका लागि बोर्डले टोल–फ्री नम्बर १२३४, हटलाइन ११४४ र पर्यटक प्रहरीको मोबाइल नम्बर ९८५१२८९४४५ सार्वजनिक गरेको छ। प्रभावितका आफन्त तथा सरोकारवालालाई नजिकको प्रहरी, सुरक्षा निकाय, स्थानीय प्रशासन वा सम्बन्धित ट्राभल एजेन्सीमार्फत तत्काल जानकारी गराउन आग्रह गरिएको छ।
बोर्डले पर्यटक तथा यात्रुलाई नआत्तिन, संयमित रहन र सुरक्षा निकायले जारी गरेका आधिकारिक निर्देशन पालना गर्न आग्रह गरेको छ।