नेभिगेशन
नेपाल प्रहरी

बाहिर ट्याटु हाउस, भित्र लागूऔषधको कारोबार: ठूलो परिमाणमा ट्रामाडोलसहित ४ जना पक्राउ

काठमाडौँ । बाहिर ट्याटु हाउस तर भित्र लागूऔषधको कारोबार हुने स्थानबाट  ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोलसहित चार जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोले ललितपुर महानगरपालिका–१५ हात्तिबनमा सञ्चालित ट्याटु हाउसमा छापा मार्दा २ हजार क्याप्सुल ट्रामाडोल र ३ ग्राम ८ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार ट्याटु हाउसबाट पक्राउ परेका तीन जनाको बयानका आधारमा काठमाडौँ महानगरपालिका–२६ मित्रनगरबाट थप ८ हजार ३४० क्याप्सुल ट्रामाडोल बरामद गगरिएको हो।

लागुऔषधको कारोबारमा संलग्न रहेको आरोपमा धादिङ घर भएका २९ वर्षीय जनार्जन घले, सिन्धुपाल्चोक घर भएका २६ वर्षीय ज्वाला श्रेष्ठ, मकवानपुर घर भएका ३१ वर्षीय महेन्द्र विश्वकर्मा र काभ्रे घर भएका ३१ वर्षीय राजु तामाङलाई पक्राउ गरेको  ब्यूरोले जनाएको  छ।

ब्यूरोका अनुसार भदौ २५ गते ट्याटु हाउसबाट तीन जना पक्राउ परेका थिए। उनीहरूसँग गरिएको सोधपुछ तथा बयानका क्रममा खुलेको विवरणका आधारमा थप एक जनालाई पक्राउ गरिएको हो। 

ब्यूरोले बरामद गरेको ट्रामाडोल र खैरो हेरोइन कहाँबाट ल्याइएको तथा यसको कारोबारमा अरू व्यक्तिको समेत संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ परेकाहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको रहेको ब्यूरोले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्