नेभिगेशन
नेपाल प्रहरी

भूपेन्द्रको बयानपछि दैलेखमा लुकाइएको पेस्तोल, म्याग्जिन र ५ राउन्ड गोली बरामद

सुर्खेत । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका एक व्यक्तिको बयानका आधारमा दैलेखको आठबीस नगरपालिका क्षेत्रबाट प्रहरीले स्वचालित पेस्तोल, म्याग्जिन र गोली बरामद भएको छ।

सुर्खेत प्रहरीका अनुसार अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा रहेका दैलेखको आठबीस नगरपालिकाका ३० वर्षीय भीमबहादुर शाही र २७ वर्षीय भूपेन्द्र शाहीसँग प्रहरीले सोधपुछ गरेको थियो।

सोधपुछका क्रममा भूपेन्द्र शाहीले दैलेखको आठबीस नगरपालिका–राकम खोलीबजार नजिकैको खोल्सामा स्वचालित पेस्तोल लुकाएर राखेको बताएका थिए। उनले भदौ २६ गते प्रहरी  अधिकारीसमक्ष दिएको बयानका आधारमा प्रहरीले उक्त स्थानमा खोजी गरेको सुर्खेत प्रहरीले जनाएको छ।

प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको कमाण्डमा खटिएको टोलीले स्थानीय इलाका प्रहरी कार्यालय राकमसँग समन्वय गरी खोजी गर्दा खोल्साको झाडीमा कालो प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा पेस्तोल फेला पारेको सुर्खेत प्रहरीले जनाएको छ।

बरामद पेस्तोलमा ‘मेड इन चेकोस्लोभाकिया’ लेखिएको छ भने त्यसमा १०५०२८ नम्बर उल्लेख गरिएको छ। पेस्तोलसँगै एक थान म्याग्जिन र पाँच राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ।

यसअघि नै अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका भीमबहादुर र भूपेन्द्र शाहीमाथि अब बरामद हतियारका विषयमा समेत हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्