नेभिगेशन
नेपाल प्रहरी

प्रधानमन्त्रीसँग छलफल गरेर फर्किदैं गर्दा सिंहदरबारबाटै पक्राउ परे गाउँपालिका अध्यक्ष वीरबल तामाङ

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री बालेन शाहको आह्वानमा सिंहदरबारमा भएको छलफलमा सहभागी भएर बाहिरिने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।

रसुवालगायत बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहले सोमबार सिंहदरबारमा छलफल गरेका थिए। उक्त बैठकमा सहभागी तामाङलाई छलफल सकिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

बैठकमा सहभागी रसुवाको आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार प्रहरीले वीरबललाई पक्राउ गरेर लगेको थियो। पक्राउपछि उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

तामाङविरुद्ध अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ। सोही मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति माग्दै प्रहरी वृत्त दरबारमार्गले वैशाख २८ गते काठमाडौं जिल्ला अदालतमा पत्र पठाएको थियो।

प्रहरीले अदालतमा पठाएको पत्रमा जाहेरी तथा बैंकिङ विवरणबाट तामाङ घटनामा संलग्न रहेको देखिएको भन्दै पक्राउ गरी अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको थियो। त्यसपछि काठमाडौं जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (३) बमोजिम उनलाई पक्राउ गर्न अनुमति दिएको थियो।

अदालतको उक्त अनुमतिपछि प्रहरीले सोमबार सिंहदरबारबाटै तामाङलाई पक्राउ गरेको हो। किस्पाङ गाउँपालिका–३ का स्थायी बासिन्दा तामाङको काठमाडौं महानगरपालिका–१६ नयाँबजारमा ओशिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर सञ्चालनमा रहेको बताइएको छ। उनीमाथि ठगीसम्बन्धी थप आरोपसमेत रहेको जनाइएको छ। प्रहरीले थप अनुसन्धान अगाडि बढाउने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्