नेभिगेशन
सुरक्षा अपडेट

बाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । बाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडक स्तरोन्नतिको क्रममा सोमबार बिहान करिब ७ः२० बजे उक्त घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खनिरहेका बेला माथिबाट अचानक माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका थिए। घटनामा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ढिस्कोमा पुरिएका दुवै जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्।

घाइते घर्तीलाई तत्काल उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्