नेभिगेशन
नेपाल प्रहरी

ब्राउन सुगर र पोल्याण्ड जस्ता लागुऔषधसहित १३ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं। नेपाल प्रहरीले लागुऔषधविरुद्धको कारबाहीमा १३ जनालाई पक्राउ गरेको छ। जसअन्तर्गत प्रहरीले काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध नुर्फिन ३३ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनारगन ३३ एम्पुल र नगद ३७ हजार ३ सय रूपैयाँ सहित सोही नगरपालिका-६ नयाँबस्ती बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय नवाङ शेर्पालाई )प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-४ गैह्रीधारास्थित नाङ्लो क्याफे हाउसबाट १ सय ग्राम गाँजा र १ सय ग्राम पोल्याण्डसहित ५ जनालाई लप्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-५ हाडीगाउँ बस्ने ४१ वर्षीय नरेश कायस्थ, ४४ वर्षीय सदाशिव महर्जन, सोही महानगरपालिका-४ बालुवाटार बस्ने ३३ वर्षीय सुनिल तामाङ, ४० वर्षीय सबिस लामा र सोही महानगरपालिका-१ नक्साल बस्ने ४७ वर्षीय राजेन्द्र खड्की रहेका छन् । प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २९ हजार ६ सय ५० ट्याब्लेट सहित २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी ग्राम अरेराज मलाही ११ मललाही बस्ने २३ वर्षीय नितिश कुमार ठाकुर र पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने २६ वर्षीय सिद्धान्त प्रसाद पटेल रहेका छन् । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बिआर ०५ बिए ४८१७ नम्बरको कार तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक नितिश र कारमा सवार सिद्धान्तलाई पक्राउ गरेको हो ।  

त्यसैगरी सुनसरीको हरिनगरा गाउँपालिका-३ गौतमपुरबाट ४० किलो गाँजा सहित इनरूवा नगरपालिका-७ बस्ने ३० वर्षीय अमिर मियालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी गौतमपुर समेतबाट खटिएको प्रहरीले सत्तरझोराबाट गौतमपुरतर्फ आउँदै गरेको प्र.१-०२-००४ ह १६४३ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक मियालाई पक्राउ गरेको हो । 

प्रहरीले मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट ४ ग्राम १८० मिलिग्राम  खैरो हेरोइन सहित पथरी शनिश्चरे नगरपालिका-१ बस्ने २७ वर्षीय प्रदिप बस्नेतलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ को एक नम्बर ढाँटबाट १ ग्राम ११३ मिलिग्राम खैरो हेरोइन सहित पथरीशनिश्चरे नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल भारतीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

प्रहरीले सप्तरीको तिरहुत गाउँपालिका-२ बडहराबाट  ५५ किलो गाँजा सहित उदयपुर वेलका नगरपालिका-३ बस्ने ४१ वर्षीय जयराम दाहाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएको प्रहरीले प्र-१-०२-००३ ह २९३४ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक जयरामलाई पक्राउ गरेको हो ।

त्यसैगरी झापाको बुद्धशान्ति गाउँपालिका-३ झिलझिले पुलबाट १ ग्राम १३० मिलिग्राम ब्राउनसुगर सहित मेचीनगर नगरपालिका-१२ बस्ने २४ वर्षीय प्रितम मेचेलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेका १३ जनालाई हिरासतमा लिएर सम्बन्धित प्रहरी कार्यालय अनुसन्धान जारी राखेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्