काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ राडरस्थित सडकमा भएको दुर्घटनामा एक जनाको मृत्युु भएको छ।
बा ६० प १७९५ नम्बरको मोटरसाइकल र बाप्र-०३ज००१ ख १२४७ नम्बरको ट्रक एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
त्यसैगरी कपिलवस्तुको मायादेवी गाउँपालि-८ बरकुलस्थित सडकमा लु२ च ३२८८ नम्बरको भ्यान र यूपी ५५ क्यू ३३१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगर पिपरिहवा बस्ने ५५ वर्षीय अस्दुल्ला मुसलमानको मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका-१४ नमस्तेचोकमा गितानगरबाट पटिहानीतर्फ जाँदै गरेको बाप्र०३-००३ प २९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पर्साको ठोरी गाउँपालिका-१ बस्ने ५५ वर्षीय चाक गम बहादुर कुँवरको मृत्यु भएको छ ।
यसैगरी महोत्तरीको जलेश्वर नगरपालिका-२ सिनेमा हलस्थित सडकमा एमपि १३ पि ७७३३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१० साडी बस्ने ५० वर्षीया संजु ठाकुरको मृत्यु भएको छ । प्रहरीले बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका-१५ कोटिहवास्थित सडकमा लु३० प ५१४६ नम्बरको मोटरसाइकल बिएबि ८४८४ नम्बरको कारमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१४ शुक्रौलिया बस्ने ३० वर्षीय पदम क्षेत्रीको मृत्यु भएको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
त्यस्तै रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको छ । फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ।