काठमाडौं । नेपाल प्रहरीले बाँकेसहित देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बाँके प्रहरीले नेपालगन्ज-१२ बाट ७० ग्राम ७२० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय समिर बेहेना र ३१ वर्षीय जुमाई सिद्दिकी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यसैगरी प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका-१० सडकघाट र भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट एक-एक जनालाई खैरो हेरोइन १९ वर्षीय कबिर शाही २२ वर्षीय लालसिंह कार्कीलाई पक्राउ गरेको हो भने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ सत्यनारायण चोकबाट ब्राउनसुगर २४ वर्षीय धिरन विकलाई पक्राउ गरेको छ।
प्रहरीले कपिलवस्तुस्थित शिवराज नगरपालिका-५ चन्द्रौटा चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित रूकुम पश्चिम मुसिकोट गाउँपालिका-१ खलङ्गा बस्ने २४ वर्षीय नबिन नेपाली र रूकुम पूर्व सिस्ने गाउँपालिका-५ कमलदह बस्ने १९ वर्षीय शिशिर गौतमलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले रामग्राम नगरपालिका-९ कर्मैनीस्थित धर्मशालाबाट ४६ ग्राम बढीको खैरो हेरोइन ४८ वर्षीय सुरेन्द्र प्रसाद हरिजनलाई पक्राउ गरेको हो। यसैगरी प्रहरीले चितवनको भरतपुर महानगरपालिका-३ पुलचोकबाट नियन्त्रित लागूऔषध र नगद १ लाख ९ हजार रूपैयाँ सहित भरतपुर महानगरपालिका-१६ बस्ने ३० वर्षीय सुनिल सुनारलाई पक्राउ गरेको छ ।
लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीले कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ घट्टेखोलाबाट नियन्त्रित लागूऔषधसहित सोही गाउँपालिका-८ धम्पुस बस्ने ४२ वर्षीय युवराज गुरूङलाई पक्राउ गरेको छ भने सिराहाको गोलबजार नगरपालिका-५ हरिपुर टोल बस्ने ३६ वर्षीय शम्भु प्रसाद सुमनलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
प्रहरीले मोरङबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-७ बस्ने ३२ वर्षीय जित प्रसाद सापकोटा र महोत्तरीको बर्दिबास नगरपालिका-४ बस्ने २२ वर्षीय रबिन विश्वकर्मा रहेका छन् ।
त्यस्तै धनकुटाको धनकुटा नगरपालिका-७ त्रिवेणी चोकबाट प्रहरीले खैरो हेरोइन र नियन्त्रित लागूऔषधसहित सोही ठाँउ बस्ने २५ वर्षीय अभिषेक लिम्बु र सोही नगरपालिका-७ जिरोप्वाईन्ट बस्ने १९ वर्षीय सागर सहनीलाई पक्राउ गरेको हो।
झापाको बिर्तामोड नगरपालिका-२ बालुवाटारबाट ब्राउनसुगर र नगद ४३ हजार ८० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३८ वर्षीय चन्दन राजबंशी र २५ वर्षीय सुनिल राजबंशीलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ भने काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध र नगद २३ हजार २ सय रूपैयाँ सहित काठमाडौं बल्खु डेरा गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-१ घर भएका २१ वर्षीय सन्जोक लिम्बु समेत ३ जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।