नेभिगेशन
नेपाल प्रहरी

प्रहरी हौं भन्दै बैंकमा जम्मा गर्न लैजाँदै गरेको साढे ३ लाख रुपैयाँ लूटने दुई युवक पक्राउ

काठमाडौं । प्रहरीको नाममा अपहरण गर्दै बन्धक बनाएर डकैती गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–८ बस्ने २४ वर्षीय समिर हुसेन र सोही महानगरपालिका–६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका छन् ।

मोरङको विराटनगर महानगरपालिका–१३ रानीस्थित राइस मिल छेउमा सिटी सफारीमा सवार पुरूषलाई बन्धक बनाएर उनीहरुले डाँका गरेको आरोप छ ।
स्कुटरमा सवार उनीहरूले ती व्यक्तिलाई रोक्दै ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भनेका थिए ।

त्यसपछि स्कुटरको बीचमा ती व्यक्तिलाई जबरजस्ती राखी विराटनगर महानगरपालिका–१४ जतुवास्थित एकान्त स्थलमा पुर्‍याई डर त्रास देखाई उनको साथमा रहेको ३ लाख ६४ हजार रूपैयाँ डाँका गरेको आरोप छ।
मोरङ प्रहरीले दिएको जानकारी अनुसार असार ११ गते बिहान सवा ११ बजे विराटनगर–१५ का २० वर्षीय विक्रम कुमार साह तेलीले बैंकमा जम्मा गर्न लैजाँदै गरेको रु. ३ लाख ६४ हजार रुपैयाँ लुटपाट भएको थियो।

प्रहरीले अनुसन्धानको क्रममा असार १५ गते सो घटनामा प्रयोग भएको को.१४ प. ३३३० नम्बरको स्कुटरसहित समीर हुसेन र आशिफ अन्सारीलाई पक्राउ गरेको हो। उनीहरूलाई पीडितले सनाखत समेत गरिसकेको छ।

प्रहरीले उनीहरूमाथि शरीर बन्धक बनाई डाँका गरेको कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ। घटनामा संलग्न अर्का युवकको पनि खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्