नेभिगेशन
नेपाल प्रहरी

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ, पाएका थिए २० वर्षको जेल सजाय

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको छ। वि.स. २०५२  चैत २२ गते भएको हत्या घटनामा फरार रहेका तनहुँको भिमाद नगरपालिका-८ बस्ने  ५१  वर्षीय फिरोज भन्ने फत्त बहादुर शाहीलाई २९ वर्ष ३ महिनापछि प्रहरीले पक्राउ गर्न सफल भएको हो।

सोही वडाका चित्र बहादुर खाँणलाई खुकुरी प्रहार गरी गरेको हत्या घटनामा तनहुँ जिल्ला अदालतबाट २०६० माघ २८ गतेको फैसलाले शाहीलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल सजाय सुनाएको थियो।

उक्त फैसला पछि फरार रहेका शाहीलाई विशेष सूचनाका आधारमा असार ३२ गते गण्डकी प्रदेश प्रहरी कार्यालयको टोलीले स्याङ्जाको चापाकोट नगरपालिका- ४ घुर्लिचौरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

शाहीले  २०५२ साल चैत्र २२ गते जिल्ला तनहुँको साविक ढोरफिर्दी गाविस -८ र भानुमति गा.वि.स- ७ राईपुरको सिमानामा पर्ने क्यांङ्दी खोला र वरखोला बीच जरेबरमा लागेको मेलामा महिलाको विषयमा सामान्य बादबिबाद हुँदा खाँणलाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए।

पक्राउ परेका शाहीलाई आबश्यक कारबाहीका लागि गण्डकी प्रदेश प्रहरी कार्यालयले तनहुँ प्रहरीलाई जिम्मा लगाउदै तनहुँ जिल्ला कारागार पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्