नेपालगञ्ज । बाँकेको राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण गरिएपछि बाँकेको उच्च जोखिममा रहेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती खतरामुक्त भएका छन् । आपतकालीन तटबन्धका कारण राप्ती नदीले धार परिवर्तन गरेकाले तत्काललाई जोखिम टरेको हो । यसले नदी तटीय क्षेत्रका गाउँबस्तीमा राहत मिलेको छ ।
दुई वर्षअघि बाँकेको राप्ती नदीमा आएको ठूलो बाढीले पक्की तटबन्ध बगाएपछि बजेट अभाव देखाउँदै नयाँ तटबन्ध निर्माण हुन सकेको थिएन, जसले गर्दा त्यस वरिपरिका करीब एक दर्जन गाउँबस्ती डुबानको उच्च जोखिममा थिए ।
तर, पछिल्लोपटक छोटो समयमा जनताको तटबन्ध कार्यक्रम लमही दाङले दिनरात खटिएर काम गरी कटान रोक्न सिमेन्टको पोल, बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा तथा जाली प्रयोग गरी नयाँ प्रविधिको माध्यमबाट चार सय मिटर लामो आपतकालीन तटबन्ध निर्माण सम्पन्न गरेपछि नदीले धार परिवर्तन गरेको छ । जनताको तटबन्ध कार्यक्रमका आयोजना प्रमुख डा. नारायण सुवेदीले दिनरात काम गरेर छोटो समयमै काम सकिएको बताए ।
दुई वर्षदेखि माग गर्दै आए पनि तटबन्धको माग सुनुवाई नभएको तर अहिले जनताको तटबन्ध कार्यक्रमले दुई महिना पनि नलगाई अस्थायी तटबन्ध बनाइदिएपछि स्थानीयमा त्रास हटेको छ । खल्लाझगडियामा आपतकालीन तटबन्ध निर्माण सकिएपछि नदीको धार परिवर्तन भई कटान रोकिने स्थानीयहरुको विश्वास छ ।
राप्तीसोनारी वडा नम्बर ७ का स्थानीय दीपनारायण बर्माले यस बर्ष कटान रोकिने विश्वास ब्यक्त गरे । बर्खा लगत्तै स्थायी तटबन्ध निर्माण हुने भएपछि स्थानीय खुसी देखिन्छन् । स्थानीय जनप्रतिनिधिले पनि अहिलेको कामले परिणाम दिनेमा आफूहरु आशाावादी रहेको बताउँछन् । राप्तीसोनारी वडा नम्बर ६ का वडा अध्यक्ष लबराज खरेलले निकै राम्रो काम भएको भन्दै यसले धेरै राहत दिने बताए ।
खल्ला झगडियामा अस्थायी तटबन्ध निर्माण पूरा भएकाले अब फत्तेपुर जरैयास्थित राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण कार्य सुरु गरिने जनताको तटबन्ध कार्यक्रमले जनाएको छ । खल्लाझगडिया क्षेत्रमा चार सय मिटर लामो पक्की तटबन्ध मङ्सिर २०८३ सम्म सम्पन्न गर्ने गरी साई माँ दुर्गा भिन्सी जेभीले ६ करोड पाँच लाख रुपैयाँको लागतमा ठेक्का लिएर काम सुरु गरेको छ ।
सोही ठेक्का अन्तर्गत अहिलेलाई आपतकालीन तटबन्ध निर्माण गरिएको र वर्षा सकिए लगत्तै पक्की तटबन्ध निर्माण सुरु गरिने जनताको तटबन्ध कार्यक्रम लमहीले जनाएको छ ।