नेभिगेशन
नेपाल प्रहरी

विभिन्न किसिमका लागुऔषधसहित १५ जना नेपाल प्रहरीको नियन्त्रणमा

काठमाडौं नेपाल प्रहरीले गरेको लागुऔषधविरुद्धको कारबाहीमा विभिन्न किसिमका लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । 

प्रहरीको कारबाहीमा नवलपरासी पश्‍चिमस्थित  सुनवल नगरपालिका-४ रमुवापरबाट नियन्त्रित लागूऔषध फेनारगन २५ एम्पुल, बुप्रेनोर्फिन २५ एम्पुल र डाईजेपाम २३ एम्पुल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका(२ पाखापानी बस्ने ३७ वर्षीय किसन नेपाली र २२ वर्षीय राजेन्द्र नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनीहरू उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी नवलपरासी पश्‍चिमकै रामग्राम नगरपालिका-१ निलोगेटस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन १३ एम्पुल र डाईजेपाम १३ एम्पुल सहित रूपन्देही बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने ३३ वर्षीय सुनिल परियारलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

प्रहरीले मोरङको विराटनगर महानगरपालिका-१५ बाट १ सय ४७ ग्राम  खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दिल्ली कटिहार शिवानापुर-४ बस्ने ३० वर्षीय मोहमद सद्‍दाम हुसेन र कटिहार खरसोता-५ बस्ने ३२ वर्षीय बमकिम कर्मकार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापाको भद्रपुर नगरपालिका-८ बाट २० ग्राम ४८० मिलिग्राम  खैरो हेरोइन  र नगद १४  हजार १ सय ७० रूपैयाँ सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २३ वर्षीय अलताप सेख, सोही नगरपालिका-७ बस्ने १९ वर्षीय रमित राजवंशी, २९ वर्षीय सुमित पासी, सोही नगरपालिका-८ बस्ने २१ वर्षीय राज श्रेष्ठ, धादिङ रुवी भ्याली गाउँपालिका-५ बस्ने २४ वर्षीय गुम लामा र काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने १९ वर्षीय न्यान्जी तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

प्रहरीले  झापाकै कन्काई नगरपालिका-३ कालीस्थान चोकबाट ३५० मिलिग्राम  ब्राउनसुगरसहित २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने ३३ वर्षीय रमेश मुखिया सुनुवार र सोही नगरपालिका-३ बस्ने ४२ वर्षीय चन्द्र पौडेल रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेतको भेरीगंगा नगरपालिका-१२ ठकुरी टोल बस्ने २१ वर्षीय राजन विक र २६ वर्षीय आकाश बुढालाई ७८० मिलिग्राम  खैरो हेरोइन सहित गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले राजनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 

लागुऔषधसहित पक्राउ परेका उनीहरुविरुद्ध म्याद थप गरेर सम्बन्धित प्रहरी कार्यालयले आवश्यक  अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्