नेभिगेशन
नेपाल प्रहरी

२२ वर्षपछि समातिए कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खमबहादुर

काठमाडौं  । २२ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी खमबहादुर थजाली पक्राउ परेका छन्। जिल्ला म्याग्दी रघुगंगा गाउँपालिका–४ का ४३ वर्षीय थजालीलाई मंसिर १७ गते बेनी नगरपालिका–२, कालिपुल क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

२०६० कात्तिक ६ गते राति करिब ११ बजे साबिक दग्नाम  गाविस–२ निवासी धनराज तिलिजालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा थजालीसहितका व्यक्तिविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूर मुद्दा दर्ता गरिएको थियो। उक्त घटनामा उनी प्रत्यक्ष संलग्न रहेको प्रहरीले जनाएको छ।

उक्त मुद्दामा जिल्ला अदालत म्याग्दीले २०६३ चैत २९ गते थजालीलाई ११ वर्ष ७ महिनाको कैद सजाय तोकेको थियो। तर सजाय भुक्तान नगरी उनी फरार रहेका थिए। लामो समयदेखि लुकिछिपी बसेको सूचना पाइएपछि प्रहरीले थजालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

पक्राउ परेका थजालीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत म्याग्दीमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्