नेभिगेशन
सुरक्षा अपडेट

श्रीगाउँमा ट्रकको ठक्करबाट सल्यानका युवकको मृत्यु,गम्भीर घाइते बबईका गणेश लखनउमा

तुलसीपुर । ट्रकको ठक्करबाट मोटरसाइकल सवार एक युवकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । 

दाङको तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत  तुलसीपुरबाट हंशपुर तर्फ जाँदै गरेको रा ७ प ५६७८ नम्बरको मोटरसाइकललाई जाजरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ६ ख २६३५ नम्बरको ट्रकले दंगीशरण गाउँपालिका-६ श्रीगाउँमा ठक्कर दिँदा सल्यानको कालीमाटी गाउँपालिका-३ का २३ बर्षीय भिषन पुन मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ट्रकले ठक्कर दिए लगत्तै भिषनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। प्रहरीका अनुसार मृतक भिषन मोटरसाइकलको पछाडि सवार थिए। तुलसीपुर प्रहरीले  ट्रकको ठक्करबाट बबई गाउँपापलिका-३ का २९ बर्षीय मोटरसाइकल चालक गणेश वली गम्भीर घाइते भएको जानकारी दिएको छ।

गम्भीर घाइते भएका गणेशलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगन्ज रिफर गरिएको थियो । नेपालगन्ज अस्पतालमा गणेशको अवस्था गम्भीर देखिएपछि भारतको लखनउस्थित आशिर्बाद सिटी हस्पिटलमा लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीले ठक्कर दिने ट्रक र तुलसीपुर उपमहानगरपालिका-१२ टरिगैका २९ बर्षीय चालक साजन आचार्यलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ भने उक्त घटना शनिबार राति ८ बजे भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्