नेभिगेशन
ट्राफिक प्रहरी

बाँके ट्राफिक प्रहरीको सक्रियता:२ महिनामा ३९६६ सवारीसाधन कारबाहीमा, साढे ३३ लाख राजस्व

२ सय २० दुर्घटनामा ११ जनाको मृत्यु

बाँके  । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको कार्तिक १ गतेदेखि हालसम्म सवारी नियम उल्लङ्घनविरुद्ध कडाइ गर्दै व्यापक कारबाही गरेको छ । यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ९ सय ६६ वटा सवारी साधनमाथि कारबाही गर्दा ३३ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीका अनुसार सोही अवधिमा जिल्लाभर २२० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ८ जना पुरुष, २ जना महिला र १ जना बालक रहेका छन् । साथै दुर्घटनामा १९ जना गम्भीर घाइते र ३३९ जना सामान्य घाइते भएका छन् ।

दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक प्रयोगको उद्देश्यले ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको ट्राफिक प्रहरी प्रमुख शाहीले बताए । यस अवधिमा जिल्लाका विभिन्न स्थानमा ३४५ पटक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट ३६ हजार ४५५ जना लाभान्वित भएका छन् ।

यसै अवधिमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न सुधारात्मक तथा नयाँ कार्यहरू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । आफैंले नम्बर प्लेट परिवर्तन गरी सञ्चालन गरेका ५८ वटा ईभी गाडी कारबाहीमा परेका छन् भने नम्बर प्लेट परिवर्तन गरी सञ्चालनमा रहेका १७ वटा ईभी गाडी यातायात व्यवस्था कार्यालय नेपालगन्ज पठाइएको छ ।

बाँके ट्राफिक प्रहरीका अनुसार चर्को आवाज गरी ध्वनि प्रदूषण फैलाउने ४६ वटा मोटरसाइकललाई कारबाही गरिएको छ । साथै ६४ वटा सार्वजनिक यात्रुबहाक सवारी साधनमा भाडादर टाँस्न लगाइएको छ भने अस्पष्ट नम्बर प्लेट भएका १२६ वटा सवारी साधनमा पुनः नम्बर लेख्न लगाइएको हो ।

त्यसैगरी, आफैंले सिट थप गरी सञ्चालन गरिएका ३०० वटा सार्वजनिक सवारी साधनका ४६७ वटा सिट तथा मुडा हटाइएको छ । मानिस झुन्ड्याउन प्रयोग हुने गरी बनाइएका ६४ वटा म्याजिक भ्यानका फलामका डण्डी काटिएको छ । ओभरलोड बोकेका १३ वटा सवारी साधन नियन्त्रणमा लिएर पल्टी गराइएको प्रहरी निरीक्षक शाहीले जानकारी दिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका ट्राफिक लाइट मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ । साथै विभिन्न स्थानमा १४ वटा ट्राफिक सचेतनामूलक बोर्ड राखिएको छ । रातिको समयमा सवारी साधन देखिने बनाउन १ हजार १३२ वटा साइकल तथा अन्य सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको हो ।

मंसिर २६ गते कोहलपुर नगरपालिकाको सभाहलमा नागरिक सुनुवाइ कार्यक्रम समेत सञ्चालन गरिएको थियो । साथै चोरी भएको लु.प्र.०३–००१ प ३४१५ नम्बरको मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसैबीच, अवैध रूपमा सञ्चालनमा रहेका १८० वटा ई–रिक्सा नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । ट्राफिक प्रहरीले आगामी दिनमा पनि सवारी नियम कडाइका साथ कार्यान्वयन गर्दै सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा निरन्तर काम गर्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्