नेभिगेशन
नेपाल प्रहरी

रोल्पामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

दाङ । रोल्पामा कुटपिटको घटनामा एक महिलाको मृत्यु भएपछि उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

रुन्टीगढी गाउँपालिका–५ जस्पुरका ४८ वर्षीय अमराज दमाइलाई आफ्नी ५२ वर्षीया श्रीमती रिमा परियारको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाका अनुसार घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको छ।

प्रहरीका अनुसार मदिरा सेवन गरेका अमराजले शनिबार साँझ करिब ६ बजेतिर श्रीमती रिमामाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मनिस थापाको नेतृत्वमा खटिएको टोलीले घाइते रिमालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारका लागि लगेको थियो।

तर, उपचारका क्रममा चिकित्सकले साँझ पौने सात बजेतिर रिमालाई मृत घोषणा गरेका थिए। घटनापछि अमराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

मृतक रिमाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्