नेभिगेशन
नेपाल प्रहरी

दाङबाट ४४ ग्राम बढी ब्राउन सुगर बरामद, नेपालगन्जका २ युवकसहित ५ जना पक्राउ

दाङ । दाङबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित  ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गए राति लमही नगरपालिका–५ स्थित लमही बसपार्कबाट रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–१२ का २६ वर्षीय सुजन परियारलाई १३ ग्राम २ सय ८० मिलिग्राम ब्राउन सुगरसहित  पक्राउ गरिएको छ। वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

थप अनुसन्धानका क्रममा ब्राउन सुगर कारोबारमा संलग्न रहेको आरोपमा रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–१२ का २७ वर्षीय बिबेक बुढामगर र भुमे गाउँपालिका–२ का २८ वर्षीय बिकाश पुन मगरलाई घोराही उपमहानगरपालिका–१४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

त्यस्तै दाङको राप्ती गाउँपालिका–५ कालापानीबाट आइतबार दिउँसो ३१ ग्राम १ सय ६० मिलिग्राम ब्राउन सुगरसहित नेपालगन्जका दुई युवकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीका ३८ वर्षीय ईमरान सिद्दिकी हलवाई र नेपालगन्ज उपमहानगरपालिका–८ ज्वलाहापुरका ३८ वर्षीय नुरूद्दिन अन्सारी रहेका छन्। इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीहरुविरुद्ध दाङ जिल्ला अदालतबाट म्याद लिएर लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्