नेभिगेशन
नेपाल प्रहरी

लागुऔषध नियन्त्रण ब्यूरोले बर्दियामा भारतीय तस्करलाई गोली हानेर नियन्त्रणमा लियो २६६ ग्राम खैरो हेरोइन

नेपालगन्ज । लागुऔषध नियन्त्रण ब्यूरोले बर्दियामा दुई राउण्ड गोली चलाएर ठुलो परिमाणको खैरो हेरोइनसहित भारतीय लागुऔषध तस्करलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट प्रहरी सहायक निरीक्षक नवीन शाहीको कमाण्डमा गएको  टोलीले बर्दियाको गुलरिया नगरपालिका–११ लालपुर नजिकै आज साँझ पौने ६ बजे भारतको उत्तर प्रदेशस्थित बहराईचको लौकाहीका ३३ वर्षीय लागुऔषध तस्कर फिरोज खानलाई दुई राउण्ड गोली हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार पक्राउ गर्न खोज्दा खान भाग्न टोलीसलाई आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको थियो। जसमा १ राउण्ड गोली खानको दाहिने खुट्टामा लागेको र अर्को गोली लक्ष्यमा नलागेको प्रहरीले जनाएको छ।

गोली लागेपछि नियन्त्रणमा लिएर खानतलासीका क्रममा खानले लगाएको पाइन्टको दाहिने खल्तीभित्रबाट  खैरो हेरोइन फेला परेको थियो। डिजिटल तराजुमा तौल गर्दा  २६६ ग्राम ५६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको थियो।

ब्यूरोको टोलीले खानको साथबाट ३ वटा मोबाइल फोन   समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। घाइते अवस्थामा रहेका खानलाई आवश्यक उपचारपछि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बर्दिया बुझाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्