बाँके । प्रहरी उपरीक्षक अंगुर जिसीको कमाण्डको जिल्ला प्रहरी कार्यालय बाँकेले पुस महिनामा सम्पादित अपराध अनुसन्धान, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन तथा समुदाय केन्द्रित कार्यक्रमहरूको विवरण सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको विवरणअनुसार पुस महिनामा जिल्लामा कुल १३९ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये जघन्य तथा गम्भीर प्रकृतिका ३३ वटा र सामान्य अपराधका १०२ वटा रहेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ५ वटा मुद्दा दर्ता हुँदा ४ जना पक्राउ परेका छन् भने आर्थिक अपराधका ३९ वटा घटना दर्ता भएका छन्।
चालु मुद्दाका १०६ जना प्रतिवादी पक्राउ परेका छन् भने सार्वजनिक चासोका १४ वटा पेन्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको बाँके प्रहरीले जानकारी दिएको छ। यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दा दर्ता भएको छ। फैसला कार्यान्वयनतर्फ ३३ जना पक्राउ परेका छन्, जसबाट २० वर्ष ३ महिना १० दिन कैद र ३६ लाख १८ हजार ९७७ रुपैयाँ बराबरको बिगो तथा क्षतिपूर्ति असुल गरिएको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ।
बाँके प्रहरी का अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ ३८ वटा उजुरी दर्ता हुँदा २१ वटा फर्छ्यौट भएका छन् भने १७ वटा बाँकी रहेका छन्। पीडित तथा पीडकको उमेर समूह विश्लेषण गर्दा १८ देखि २५ वर्ष उमेर समूहका १५ जना र २६ देखि ३९ वर्ष उमेर समूहका २३ जना रहेका छन् । प्रहरीले हराएका व्यक्तिहरूमध्ये महिला २७, बालिका १४, बालक ८ र पुरुष ७ जना रहेको बताएको छ भने फेला परेकामा महिला १४, बालिका १३, बालक ७ र पुरुष ४ जना रहेका छन् । बाँके प्रहरीका अनुसार अझै फेला नपरेका व्यक्तिहरूमा महिला १३, बालिका ९, बालक १ र पुरुष ३ जना रहेका छन्।
घरेलु हिंसासम्बन्धी ५६ वटा उजुरी दर्ता भएका छन् जसमा सबै झै–झगडासम्बन्धी रहेका छन् र तीमध्ये ३६ वटा मिलापत्र गराइएको वा अदालत पठाइएको छ। स्थानीय तहको आधारमा घरेलु हिंसाको तथ्याङ्क भने उपलब्ध नभएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ठाडो उजुरीतर्फ प्रत्यक्ष प्रहरी कार्यालयमा ४०२ वटा उजुरी परेका छन्। तीमध्ये १५६ वटा फर्छ्यौट भएका छन् भने ३ वटा सम्बन्धित निकायमा पठाइएको छ। २४३ वटा अझै फर्छ्यौट हुन बाँकी रहेका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आएका ११२ वटा उजुरीमध्ये ३ वटा फर्छ्यौट भएका छन् भने ९ वटा बाँकी रहेको बाँके प्रहरीले जनाएको छ।
त्यसैगरी लागुऔषधविरुद्दको कारबाहीमा ब्राउन सुगर ४९० ग्राम ७३२ मिलिग्राम, नाइट्राजेपाम ७२८ ट्याब्लेट र गाँजा १३ ग्राम ९० मिलिग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। विशेष घटनाअन्तर्गत २०८२ पुस १६ गते नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर नजिक लागुऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज बाँकेबाट खटिएको प्रहरी टोलीमाथि आक्रमण गरी फरार हुन खोज्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरी भारतको उत्तर प्रदेश जिल्लास्थित बहराइच रुपैडिया थाना बस्ने ३५ वर्षीय इलियास अहमदलाई नियन्त्रणमा लिन सफल भएको बाँके प्रहरीले जानकारी दिएको छ। उनको साथबाट २८० ग्राम १६० मिलिग्राम ब्राउन सुगर बरामद गरी कानुनी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
यसैगरी, पुस महिनामा जिल्लामा ७ वटा आत्महत्याका घटना भएका छन्। ती मध्ये सबै घटना झुण्डिने विधि प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ। मृतकहरुमा ३ जना पुरुष र ४ जना महिला रहेका छन्। जसमा २६ देखि ३५ वर्ष उमेर समूहका ५ जना पुरुष र ४६ देखि ६० वर्ष उमेर समूहका २ जना महिला रहेको बाँके प्रहरीले जनाएको छ।
गत महिनामा भएको अर्को प्रमुख अपराधमा एक व्यक्तिको बैंक तथा वित्तीय संस्थाबाट ४ करोड ९२ लाख ८४ हजार २९६ रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको, नगद रकम खातामा जम्मा हुने बित्तिकै विद्युतीय माध्यमबाट विभिन्न व्यक्ति तथा संस्थामा रकमान्तर हुने गरेको, केवाइसी विवरणमा उल्लेख गरिएको अनुमानित वार्षिक आम्दानी र कारोबार नमिलेको देखिएपछि निजविरुद्ध हुण्डीसम्बन्धी मुद्दा दर्ता गरी कानुनी कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ।
अपराध न्यूनीकरणका लागि विद्यालय तथा समुदायस्तरमा ६४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट ९६३ महिला र १ हजार ३६५ पुरुष लाभान्वित भएका छन्। अनुचित लेनदेन नियन्त्रणतर्फ भने मिलापत्र वा फर्छ्यौट भएको निवेदन तथा फिर्ता भएको रकम वा घरजग्गाको विवरण नभएको उल्लेख गरिएको प्रहरीले जनाएको छ।
बाँके प्रहरीका अनुसार शान्ति सुरक्षा तथा प्रहरी कार्यतर्फ एक महिनाको अवधिमा ८९९ पटक पिकेट, १ हजार ५६० पटक ग्रामीण गस्ती (एसआरपी), ३९० पटक चेकिङ र २ पटक दीर्घकालीन ग्रामीण गस्ती (एलआरपी) सञ्चालन गरिएको छ। बन्द, चक्काजाम, आन्दोलन, मेला पर्व तथा जात्राजस्ता विशेष परिस्थितिमा ३ वटा मेलामा ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। यस अवधिमा प्रहरी परिचालनका क्रममा कुनै पनि मानवीय वा भौतिक क्षति नभएको, प्रहरीतर्फ घाइते वा मृतक नभएको तथा अश्रुग्यास, गोलीगठ्ठा प्रयोग गर्नु नपरेको प्रहरीले जनाएको छ।
सवारी दुर्घटनातर्फ जिल्लामा १११ वटा दुर्घटना भएका छन्। जसमा १७७ वटा सवारी साधन संलग्न रहेका छन्। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १६० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाका मुख्य कारणमा तीव्र गति ५९, चालकको लापरवाही १, चौपाया १ र यात्रु मापसे ७ वटा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। त्यसैगरी ट्राफिक चेकिङका क्रममा २ हजार १५० कारबाही गरी १८ लाख २२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।
अवैध हातहतियार तथा गोलीगठ्ठा बरामदसम्बन्धी कुनै घटना नभएको जनाइएको छ भने राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ २७ लाख ३७ हजार ११० रुपैयाँ बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। सो क्रममा ६ जना व्यक्ति, १ वटा गाडी र १ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
त्यस्तै विपद् व्यवस्थापनतर्फ १० वटा विपद् घटनामा ७५ जना प्रहरी परिचालन गरिएको छ र कुल क्षति २४ लाख २६ हजार ३०० रुपैयाँ रहेको छ। प्रहरीका अनुसार प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ १२ वटा सवारी साधन नियन्त्रण गरी ५१ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ। अवैध पशुपंक्षी चोरी पैठारी नियन्त्रणतर्फ ३०८ केजी बोइलर कुखुरा बरामद गरी २ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ भने ९५ हजार २०० रुपैयाँ राजस्व संकलन गरी सम्बन्धित निकायमा बुझाइएको बाँके प्रहरीले जनाएको छ भने अवैध वन पैदावारतर्फ २५ केजी कटुकी जातको जडीबुटी बरामद गरिएको छ।
समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत ५८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ जसमा १ हजार १५ पुरुष र ६२८ महिला सहभागी भएका छन्। विद्यालय केन्द्रित ६ वटा सचेतनामूलक कार्यक्रममा ३५० बालक र ३३५ बालिका सहभागी भएका छन्। नागरिकता, हतियार नवीकरण तथा अन्य कागजातका लागि ५१ वटा नागरिकता र ३४ वटा अन्य मुचुल्का तयार गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी कार्यालयको हटलाइन तथा डीएसपी सम्पर्क नम्बरमा १९८ वटा कल प्राप्त हुँदा नागरिक सहायता कक्षमा २३६ जना सेवाग्राहीले सेवा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
अन्य गतिविधितर्फ प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि गर्न मानसिक शान्ति तथा खुसीयाली जीवनका लागि मेडिटेसन कार्यक्रम सञ्चालन गरिएको छ। सार्वजनिक तथा नागरिक सुनुवाइ कार्यक्रम १ पटक बाँके जिल्ला भेरी प्राविधिक शिक्षालय नेपालगञ्जको सभाहलमा सम्पन्न हुँदा ४५ जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा समाजमा बढ्दो लागू औषध दुर्व्यसन नियन्त्रणका लागि समुदाय र प्रहरीबीचको साझेदारीमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने विषय प्रमुख रूपमा उठेको बाँके प्रहरीले जानकारी दिएको छ।