नेभिगेशन
सुरक्षा अपडेट

मोटरसाइकल पुलको ब्यारिकेटमा ठोक्किँदा पछाडि सवार चेतनको मृत्यु

काठमाडौं । मोटरसाइकल पुलको ब्यारिकेटमा ठोक्किएर एक जनाको मृत्यु भएको छ। 
मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल गए राति १०ः०० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले राति १०ः५५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेलसमेत घाइते भएका छन् । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । मृतक कटुवालको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ भने घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्