नेभिगेशन
नेपाल प्रहरी

भारतबाट ४८ ग्राम हेरोइन लिएर आएका दाङका दुई युवक नेपालगन्जको जमुनाहबाट पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित जमुनहा नाकाबाट ४८ ग्राम खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–४ का ३० वर्षीय हिमाल केसी. र  घोराही उपमहानगरपालिका–३ का २७ वर्षीय सरद खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  आज बिहान साढे १० बजे नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाह चेकपोस्टमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई  उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

भारतको रुपैडियाबाट खैरो हेरोइन बाँके र दाङका विभिन्न स्थानमा बिक्री तथा वितरण गर्ने उद्देश्यले आउँदै गरेको सूचनाका आधारमा  जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले खानतलासी गर्दा हिमालले आफ्नो पेन्टीभित्र लुकाएर राखेको अवस्थामा खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

खैरो हेरोइनसहित उनीहरूको साथबाट  दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्