नेभिगेशन
नेपाल प्रहरी

माघमा बाँके प्रहरीको सक्रियता: १४३ मुद्दा दर्ता,चालु मुद्दातर्फ १३३ जना पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनाभर सम्पादन गरेका विभिन्न कार्य तथा गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार माघ महिनामा अपराध अनुसन्धान, नियन्त्रण, शान्ति सुरक्षा कायम, लागुऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, विपद् व्यवस्थापनदेखि समुदाय–केन्द्रित कार्यक्रमसम्म उल्लेखनीय कामहरू सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार माघ महिनामा कुल १४३ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये जघन्य तथा गम्भीर अपराध ६ तथा ५५ वटा, सामान्य अपराध ८२ वटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ७ वटा (६ जना पक्राउ) र आर्थिक अपराधका ३४ वटा मुद्दा दर्ता भएका छन्। चालु मुद्दाका १३३ जना प्रतिवादी पक्राउ परेका छन् भने सार्वजनिक चासोका १३ वटा पेण्डिङ मुद्दा सफल अनुसन्धानमार्फत टुंग्याइएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा भने दर्ता भएको छैन।

फैसला कार्यान्वयनतर्फ ३५ जना पक्राउ परेका छन्। उनीहरूबाट ८ वर्ष ४ महिना ७ दिन कैद असुल भएको छ भने रु. २२ लाख ८४ हजार ३७२ बिगो तथा क्षतिपूर्ति असुल गरिएको छ।
त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी २०६ वटा उजुरी दर्ता भएका छन्, जसमध्ये १८० वटा फछ्र्योट भइसकेका छन् भने २६ वटा बाँकी छन्। उमेर समूहअनुसार पीडित तथा पीडक १८–२५ वर्षका ६८ जना र २६–३९ वर्षका १३८ जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार हराएका तथा फेला परेका व्यक्तिहरूको तथ्यांकअनुसार २५ महिला, २१ बालिका, ६ बालक, २ ज्येष्ठ नागरिक पुरुष र ३ पुरुष हराएका थिए। तीमध्ये ११ महिला, १५ बालिका, १ बालक र २ ज्येष्ठ नागरिक पुरुष फेला परेका छन् भने १४ महिला, ६ बालिका, ५ बालक र ३ पुरुष अझै फेला पर्न बाँकी रहेका छन्।

घरेलु हिंसासम्बन्धी ४० वटा उजुरी परेका छन्, जसमा झै–झगडा प्रमुख रहेको छ। २५ वटा मुद्दा मिलापत्र गराइएको वा अदालत पठाइएको छ। 

ठाडो उजुरीतर्फ प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा ३५३ उजुरी परेका छन्, जसमध्ये १६७ फछ्र्योट भएका, १ सम्बन्धित निकायमा पठाइएको र १८६ बाँकी छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आएका ९९ उजुरीमध्ये ३ फछ्र्योट भएका र ९६ बाँकी रहेका छन्।

लागुऔषध नियन्त्रणतर्फ २८ जना पक्राउ परेका छन्। ब्राउनसुगर १६३ ग्राम ४४० मिलिग्राम, ट्रामाडोल १,१३० क्याप्सुल, नाइट्राजेपाम ३८ ट्याब्लेट र गाँजा १८ ग्राम ८०० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

माघ महिनामा ५ वटा आत्महत्या घटना भएका छन्। झुण्डिएर ४ र विष सेवनबाट १ जनाले आत्महत्या गरेका छन्। मृतकमध्ये ४ पुरुष र १ महिला रहेका छन्। उमेर समूहअनुसार २६–३५ वर्षका ४ जना र ४६–६० वर्षका १ जना रहेको प्रहरीले जानकारी दिएको छ।

गत महिनाको प्रमुख घटनामा २०८२ माघ १ गते डुडुवा गाउँपालिका–३ बनकट्टीस्थित इनारमा पहिचान नखुलेको शव फेला परेको घटनामा अनुसन्धानका क्रममा स्थानीय राजेश बर्मा संलग्न रहेको प्रारम्भिक निष्कर्षसहित उनलाई माघ ११ गते पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अपराध न्यूनिकरणका लागि विद्यालय तथा समुदायमा २९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्, जसबाट ४२३ महिला र ७०० पुरुष लाभान्वित भएका छन्। अनुचित लेनदेनसम्बन्धी १ मुद्दा दर्ता भएको छ।

शान्ति सुरक्षातर्फ एक महिनामा ८९९ पटक पिकेट, ३७७ पटक चेकिङ, १,६९८ पटक एसआरपी ग्रामीण गस्ती र ५ पटक एलआरपी गस्ती सञ्चालन गरिएको छ। विभिन्न विवादका कारण ४ पटक ६४ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। परिचालनका क्रममा मानवीय वा भौतिक क्षति भएको छैन।

सवारी दुर्घटनातर्फ ६९ वटा दुर्घटनामा १०२ सवारी साधन संलग्न भएका छन्। ६ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन्। दुर्घटनाका प्रमुख कारण तीव्र गति (४७), चालक असक्षमता (१२), चालक मादक पदार्थ सेवन (९) र अन्य लापरवाही (१) रहेका छन्। ट्राफिक चेकिङबाट २,२०५ कारबाही गरी रु. १८ लाख ३८ हजार राजस्व संकलन गरिएको प्रहरीले जानकारी दिएको छ।

अवैध हातहतियारतर्फ १ कटुवा पेस्तोल बरामद गरिएको छ। राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणमा रु. २० लाख २९ हजार ५८४ बराबरका सामान बरामद गरी २ जनालाई नियन्त्रणमा लिइएको छ। विपद् व्यवस्थापनअन्तर्गत ३ घटना व्यवस्थापन गर्दै रु. १ लाख बराबरको क्षति विवरण संकलन गरिएको र १२ जना प्रहरी परिचालन गरिएको छ।

प्राकृतिक सम्पदा दोहन नियन्त्रणमा १० सवारी साधन नियन्त्रणमा लिई रु. ४८ हजार जरिवाना गरिएको छ। अवैध पशुपंक्षी चोरी पैठारी नियन्त्रणमा २५० केजी बोइलर कुखुरा नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको छ, जसबाट रु. ३ लाख ६० हजार ५०० राजस्व संकलन भएको छ। अवैध वन पैदावारसम्बन्धी मुद्दा दर्ता नभएको प्रहरीले जनाएको छ।

समुदाय तथा विद्यालय केन्द्रित २५ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्, जसमा ५७५ पुरुष र २७३ महिला सहभागी भएका छन्। विद्यालयमा ४ कार्यक्रममार्फत १२५ बालक र १५० बालिका सहभागी भएका छन्।

नागरिकता, हतियार नवीकरण तथा अन्य कागजातका लागि २०५ नागरिकता र ५७ अन्य मुचुल्का तयार गरिएको छ। प्रहरी हटलाइन तथा डिओ सम्पर्क नम्बरमा ७२९ कल प्राप्त भएका छन्। नागरिक सहायता कक्षमा ९९५ सेवाग्राही दर्ता भएका छन्।

प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि गर्न अनुगमन, निरीक्षण तथा गुनासो सम्बोधन गरिएको छ। नवप्रवर्तनतर्फ कार्यालय तथा मातहत कार्यालयबीच खेलकुद कार्यक्रम सञ्चालन र कार्यालय परिसर सौन्दर्यकरण गरिएको छ। चिसापानी गाउँपालिका–१ मा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो, जहाँ ३५ जनाको सहभागिता रहेको र लागूऔषध दुर्व्यसन तथा चोरीका घटना नियन्त्रण गर्नुपर्ने विषय उठाइएको थियो। सीमान्तकृत तथा पिछडिएका वर्ग लक्षित १ कार्यक्रम सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनामा अपराध नियन्त्रण, अनुसन्धान र सेवा प्रवाहमा सक्रियता देखाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्