नेभिगेशन
सुरक्षा अपडेट

दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन युवकको मृत्यु

काठमाडौं । दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।  भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको वनदेवी सडकखण्ड, अत्तरियामा  दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटना धनगढी–डडेल्धुरा सडक खण्डमा भएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गम्भीर घाइते तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले सुप प्रदेश ०१–०१० प ३१८७ नम्बरको २२ वर्षीय मोटरसाइकल चालक हरिश ओलीको मृत्यु भएको जानकारी दिए। उनी धनगढी उपमहानगरपालिका–२ का बासिन्दा हुन्।

उक्त मोटरसाइकलमा पछाडि सवार गोदावरी–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी सुप प्रदेश ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकल चालक योगेन्द्र शाह अन्दाजी २६ र पछाडि सवार हरिश पार्की अन्दाजी २३ वर्षीयको पनि मृत्यु भएको छ। उनीहरू गोदावरी नगरपालिकाका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलको अवस्था हेर्दा मोटरसाइकल तीव्र गतिमा, सम्भवतः प्रतिघण्टा १०० किलोमिटरभन्दा बढीमा चलाइएको अनुमान गरिएको छ। दुर्घटनापछि मोटरसाइकलका पाङ्ग्रा तथा अन्य पाटपुर्जा टाढासम्म छरिएको अवस्थामा भेटिएको थियो। डीएसपी चन्दका अनुसार शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका थिए।

मृतक ओली गोदावरी क्षेत्रमा आयोजित विवाह समारोहमा सहभागी भएर धनगढीतर्फ फर्किँदै गर्दा दुर्घटनामा परेका हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्