नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जको विर्ता गाउँ हत्या प्रकरणका फरार अभियुक्त अन्ततः बाँके प्रहरी फन्दामा

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगन्जको विर्ता गाउँमा भएको दुई वर्षअघि भएको हत्या घटनाका फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । घटना भएको मितिदेखि हालसम्म विभिन्न प्रहरी प्रमुख फेरिए पनि हालका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीको कमाण्डमा यो महत्वपूर्ण सफलता हात परेको हो ।

वि.सं. २०८० चैत १७ गते राति ११ बजेदेखि सम्पर्कविहीन भएका नेपालगञ्ज उप–महानगरपालिका वडा नं.२१ गंगारामपुर्वाका २२ वर्षीय इन्तजार भन्ने मोहम्मद अरबी खाँ १८ गते बिहान करिब साढे ९ बजे मृत अवस्थामा फेला परेका थिए । उनको शव घरबाट करिब ५०० मिटर दक्षिणतर्फ गंगारामपुर्वादेखि तेलियनपुर जाने कच्ची सडकमा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा बाँके नेपालगञ्ज उप–महानगरपालिका वडा नं. २२ का ५३ वर्षीय अफजल पठानलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटनापछि फरार रहेका पठान भारतमा लुकीछिपी बस्दै आएका थिए । आसन्न निर्वाचनको अवसर पारेर नेपाल प्रवेश गर्ने सूचनाका आधारमा विशेष निगरानी बढाइएको थियो । सोही क्रममा मिति २०८२ फागुन ५ गते राति १० बजे नेपाल–भारत सीमाना अन्तर्गत नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १५ जमुनाह क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा घटनास्थलको प्रमाण, प्राविधिक विश्लेषण तथा संकलित सूचनाका आधारमा अभियुक्तको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ । घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको छ ।
प्रहरी रेकर्डअनुसार अभियुक्त अफजल पठान अन्य ज्यानसम्बन्धी घटनामा समेत संलग्न रहेको आरोप छ ।

वि.सं. २०६१ असार १७ गते हफिजुल्ला खाँ हत्या प्रकरण तथा वि.सं. २०६२ भदौ ११ गते रियाज खाँ कर्तव्य ज्यान घटनामा समेत उनीविरुद्ध जाहेरी दर्ता भई अनुसन्धान भएको उल्लेख रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका पठानविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यानसम्बन्धी कसूरमा  फागुन ८ गते बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

लामो समयदेखि फरार अभियुक्तलाई पक्राउ गर्न सफल हुनु बाँके प्रहरीका लागि ठूलो उपलब्धि मानिएको छ । प्रहरी उपरीक्षक जिसीको नेतृत्वमा गरिएको निरन्तर निगरानी, प्राविधिक विश्लेषण र विशेष सूचनाको आधारमा यो सफलता हात परेको प्रहरी  जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्