नेभिगेशन
सुरक्षा अपडेट

बस र स्कुटर ठोक्किँदा एक युवकको मृत्यु, एक जना घाइते

बुटवल । रुपन्देहीको देवदह क्षेत्रमा बस र स्कुटर आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

देवदह प्रहरी चौकीका इन्चार्ज भीमसेन विष्टका अनुसार देवदह–७ निवासी २८ वर्षीय सुनिल पाण्डेको उपचारका क्रममा ज्यान गएको हो। दुर्घटनापछि तत्काल उद्धार गरी अस्पताल पुर्‍याइए पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ।

बुटवलबाट काठमाडौंका लागि छुटेको लु.प्र.०१–००१ ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु.९२ प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ स्थित घोडाहा काँटा चोकमा ठक्कर दिएको थियो। दुर्घटना राति करिब १०:३० बजे भएको जनाइएको छ।

उक्त घटनामा देवदह–५ का २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन्। उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्