नेभिगेशन
सुरक्षा अपडेट

लोडेड बन्दुक समातेर फोटो खिच्ने क्रममा गोली चलेर एक किशोरको मृत्यु

काठमाडौं । बन्दुकको गोली लागेर एक किशोरको मृत्यु भएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार बैतडीको शिवनाथ गाउँपालिका–४ का १७ वर्षीय सुवाश महरा सोमबार साँझ करिब ६ बजेतिर गोली लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल डडेल्धुराको जोगबुढा अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटना डडेल्धुराको परशुराम नगरपालिका–२, जोखबुढा बसौटीमा भएको हो। प्रहरीका अनुसार सुवाश आफ्नी दिदीको घरमा आयोजित ब्रतबन्ध कार्यक्रममा सहभागी हुन एक दिनअघि त्यहाँ पुगेका थिए।

घरमै राखिएको भरुवा बन्दुक देखेपछि दुई जना किशोरले फोटो खिच्ने उद्देश्यले बन्दुक हातमा लिएको बताइएको छ। सोही क्रममा बन्दुकमा पहिले नै लोड गरिएको गोली अचानक चलेर सुवाशलाई लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले अवैध रूपमा बन्दुक घरमा राखेको आरोपमा सो घरका ४४ वर्षीय गणेशबहादुर बोहरा र घटनाका प्रत्यक्षदर्शी रहेका अर्का एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ।

डडेल्धुरा प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप सोधपुछ गर्ने तयारी गरेको जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र यो घटना दुर्घटना हो वा अन्य कारणले भएको हो भन्ने कुरा अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्