नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२-०८३ को असोजदेखि फागुन मसान्तसम्मको अवधिमा समग्रतामा उल्लेखनीय कार्यसम्पादन गरेको जनाएको छ।
हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा परिचित छन्। बाँके आउनुअघि अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा उनले जटिल तथा संवेदनशील घटनाहरू सफलतापूर्वक अनुसन्धान गरी निष्कर्षमा पुर्याएका थिए।
सोही अनुभव, नेतृत्व क्षमता र कार्यदक्षताका कारण बाँकेमा पनि अपराध नियन्त्रण तथा अनुसन्धान प्रभावकारी बन्दै गएको देखिन्छ।उनको नेतृत्वमा बाँके प्रहरीले अपराध नियन्त्रण, चोरी तथा तस्करी नियन्त्रण, गुण्डागर्दी नियन्त्रण र अवैध गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ।
उक्त अवधिमा जिल्लामा कुल १ हजार १३२ वटा मुद्दा दर्ता हुँदा ९३९ जना अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार फरार प्रतिवादी पक्राउतर्फ २७० जना पक्राउ परेका छन्। उनीहरूमाथि १२५ वर्ष १ महिना ९ दिन कैद सजाय तोकिएको छ भने ३ करोड ३५ लाख ३४ हजार ४९८ रुपैयाँ जरिवाना असुलउपर गरिएको छ।
अवैध भन्सार छलि नियन्त्रणतर्फ ६ महिनाको अवधिमा प्रहरीले १ करोड ९५ लाख ६० हजार ४९३ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। यस क्रममा ४९ जना पक्राउ परेका छन् भने २ वटा गाडी, २१ मोटरसाइकल र २ वटा इ–रिक्सा बरामद गरिएको छ।
ट्राफिक कारबाहीतर्फ जिल्लाभर १५ हजार ६६७ वटा सवारीसाधनलाई कारबाही गर्दै १ करोड २७ लाख १९ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ। त्यस्तै अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा ५२ वटा सवारी साधन नियन्त्रणमा लिँदै ६ लाख २५ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ६ महिनामा २१२ जना पक्राउ परेका छन्। बरामद लागुऔषधतर्फ १ किलो ५०० ग्राम ३२२ मिलिग्राम ब्राउनसुगर, ४ ग्राम चरेस, ५ किलो ६६ ग्राम ८९० मिलिग्राम गाँजा, ५०० मिलिलिटर कोरेक्स, २७०९ ट्याब्लेट नाइट्रोजेपाम र ४१७२ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ। पक्राउ पर्नेमा १९१ नेपाली पुरुष, ९ महिला र १२ भारतीय नागरिक रहेका छन्।
हराएका व्यक्तिको खोजतलासतर्फ पनि प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ। ३८८ जना हराएको निवेदन परेकोमा ३४३ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको छ भने बाँकीको खोजतलास जारी रहेको जनाएको छ।
यसैबीच ज्यान मार्ने उद्योगसम्बन्धी तथा अन्य गम्भीर प्रकृतिका घटनामा संलग्न फरार प्रतिवादीहरूलाई पक्राउ गर्दै अनुसन्धानलाई तीव्र बनाइएको छ। गत कात्तिक ६ गते नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित मिलन कटेज नजिक भएको घटनामा फलामको रड र धारिलो हतियार प्रहार गरी तीन जनालाई घाइते बनाउने जाजरकोट भेरीमालिका नगरपालिका–४ का ३० वर्षीय निरज शाहीलाई कात्तिक २४ गते पक्राउ गरिएको डीएसपी पातलीले जानकारी दिए।
यस्तै, मंसिर ३ गते नेपालगञ्ज–१३ मा खुकुरी प्रहार गरी एक व्यक्तिलाई गम्भीर घाइते बनाउने घटनामा संलग्न नबिन सुनारलाई मंसिर ७ गते पक्राउ गरिएको छ। सोही प्रकृतिको अर्को घटनामा २०८१ चैत १५ गते राप्तीसोनारी गाउँपालिका–२ मा भएको खुकुरी प्रहार घटनामा संलग्न एक जनालाई मंसिर २ गते नेपालगञ्ज–१२ बाट नियन्त्रणमा लिई अदालतमा पेश गरिएको डीएसपी पातलीले बताए।
यसैगरी पुस १७ गते डुडुवा गाउँपालिका–४ मा नाबालिकामाथि जबर्जस्ती करणी गर्ने अभियुक्त सद्दाम खानलाई पक्राउ गरी अनुसन्धानपछि पुर्पक्षका लागि कारागार पठाइएको छ भने २०८० चैत १७ गते नेपालगञ्ज–२१ गंगारामपुरवा क्षेत्रबाट हराएका इन्तजार भन्ने मोहम्मद अरबी खाँको हत्या प्रकरणमा संलग्न फरार अभियुक्त अफजल पठानलाई फागुन ५ गते पक्राउ गरिएको छ। उक्त घटनामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। पक्राउ परेका पठान हाल पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ।
यस्तै, डुडुवा गाउँपालिका–३ बनकट्टीस्थित इनारमा फेला परेको बेवारिसे शवको पहिचान गरी हत्या प्रकरणमा संलग्न २५ वर्षीय राकेश वर्मालाई पनि प्रहरीले पक्राउ गरी कारागार पठाइएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार फरार अभियुक्त पक्राउ, जघन्य अपराध अनुसन्धान, लागुऔषध नियन्त्रण तथा हराएका व्यक्तिको खोजी कार्यलाई थप प्रभावकारी बनाउँदै लगिएको छ। एसपी जिसीको नेतृत्वमा बाँके प्रहरीले अनुसन्धानमुखी, परिणाममुखी र सक्रिय कार्यशैलीमार्फत जिल्लाको सुरक्षा अवस्था सुदृढ बनाउँदै उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको देखिन्छ।