नेभिगेशन
ट्राफिक प्रहरी

जिप–मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, लापसे गरेका दुई चालक पक्राउ

काठमाडौं ।  जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने लागुपदार्थ सेवन (लापसे) सेवन गरेर सवारीसाधन चलाएका दुई चालक पक्राउ परेका छन् ।

कैलालीको कैलारी गाउँपालिका–१ अन्तर्गत हुलाकी राजमार्गमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ। सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र विपरीत दिशाबाट आइरहेको बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक २२ वर्षीय राम मिलन चौधरी गम्भीर घाइते भएका थिए।

धनगढी उपमहानगरपालिका–१९ फूलबारी निवासी चौधरीलाई तत्काल उपचारका लागि निसर्ग अस्पताल धनगढी लगिएको भए पनि उपचारकै क्रममा शनिबार बेलुका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनामा संलग्न जिप र चालक भजनी नगरपालिका–५ का २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

उता, काठमाडौंको बल्खुस्थित कुमारी क्लब नजिक गरिएको विशेष ट्राफिक चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाइरहेका दुई चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा यात्रुवाहक हाईस र ईभी माइक्रोबसका चालक रहेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो तथा ट्राफिक प्रहरी प्रभाग बल्खुको संयुक्त टोलीले सञ्चालन गरेको उक्त अभियानका क्रममा नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले परीक्षण गर्दा दुवै चालकले लागुपदार्थ सेवन गरेको पुष्टि भएको थियो।

सार्वजनिक सवारीका चालक नै नशाको अवस्थामा सवारी चलाउँदै गरेको भेटिएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन प्रहरी वृत्त कालिमाटी पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्