नेभिगेशन
नेपाल प्रहरी

बिचौलियामाथि प्रहरीको कडाइ:१ महिनामा ४ सय १७ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले देशभर बिचौलियाविरुद्ध कडा निगरानी गर्दै पछिल्लो एक महिनामा ४ सय १७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये १ सय २१ जनामाथि मुद्दा दर्ता गरिएको छ भने २ सय ९६ जनालाई छानबिनपछि छाडिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार सबैभन्दा धेरै पक्राउ काठमाडौं उपत्यका बाट १ सय २३ जना रहेका छन्। त्यसपछि कोशी प्रदेश बाट ४५ जना, मधेश प्रदेश बाट ५० जना, बागमती प्रदेश बाट ७६ जना, गण्डकी प्रदेश बाट २७ जना, लुम्बिनी प्रदेश बाट ४४ जना, कर्णाली प्रदेश बाट २४ जना र सुदूरपश्चिम प्रदेश बाट २८ जना पक्राउ परेका छन्।

प्रहरीले बिचौलियामार्फत छिटो काम गरिदिने भन्दै सर्वसाधारणलाई ठगी तथा दुःख दिने प्रवृत्ति नियन्त्रण गर्न यस्तो अभियान तीव्र बनाएको हो। सेवा प्रवाहलाई पारदर्शी, छरितो र नागरिकमैत्री बनाउने उद्देश्यसहित बिचौलिया रहित प्रणालीलाई उच्च प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

यस अभियानअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय सहित सातै प्रदेशका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरू सक्रिय रूपमा परिचालन भएका छन्। सेवाग्राहीलाई प्रलोभनमा पारेर अनावश्यक झन्झट दिने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने कार्यलाई अझ सशक्त बनाइने पनि प्रहरीले स्पष्ट पारेको छ।

प्रहरीको यस कदमले सार्वजनिक सेवा प्रणालीमा सुधार ल्याउने र आम नागरिकको दैनिक जीवनयापन सहज बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्