नेभिगेशन
नेपाल प्रहरी

वैदेशिक रोजगारीका नाममा करोडौँ ठगी, पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै करोडौं रकम ठगी भएको छ। प्रहरीले ठगीको आरोपमा  पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राज कुमार तामाङ, प्रकाश केसी, डिल्लीमान तामाङ, श्रीहाङ एकतिन र नमुना भण्डारी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार राज कुमार तामाङले जापान पठाइदिन्छु भन्दै एक जनाबाट ११ लाख ५५ हजार रुपैयाँ ठगी गरेका थिए । यस्तै प्रकाश केसीले अमेरिका पठाइदिन्छु भन्दै १२ जनाबाट ९३ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए । डिल्लीमान तामाङले जापान पठाइदिन्छु भन्दै दुई जनाबाट १४ लाख ७५ हजार रुपैयाँ लिएको आरोप छ ।

त्यसैगरी श्रीहाङ एकतिनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जनाबाट १२ लाख २५ हजार रुपैयाँ र नमुना भण्डारीले मकाउ पठाइदिन्छु भन्दै तीन जनाबाट ५ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्