नेभिगेशन
नेपाल प्रहरी

वैदेशिक रोजगारीको प्रलोभनमा लाखौं रुपैयाँ ठगी गर्ने बाँकेका अलतावसहित ४ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१३ बस्ने भारत मोतिहारी घर भएका २९ वर्षीय संजय कुमार, काठमाडौं महानगरपालिका–१६ बस्ने ५२ वर्षीय नगेन्द्र शाह, काठमाडौं महानगरपालिका–९ बस्ने बाँके खजुरा गाउँपालिका–२ घर भएका २४ वर्षीय मो. अलताव खाँ तथा काठमाडौं महानगरपालिका–२७ बस्ने सल्यान कुमाख गाउँपालिका–२ घर भएका १९ वर्षीय केशव सुनार रहेका छन् ।

प्रहरीका अनुसार संजय कुमार र नगेन्द्र शाहले बेलायत पठाइदिने भन्दै एक जनाबाट २२ लाख रुपैयाँ ठगी गरेका थिए । यस्तै, मो। अलताव खाँले बुल्गेरिया पठाइदिने भन्दै एक जनाबाट ५१ लाख रुपैयाँ लिएको तथा केशव सुनारले क्यानडा पठाइदिने भन्दै अर्का एक जनाबाट १ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ । रकम लिएपछि उनीहरू सम्पर्कविहीन बनेको भन्दै पीडितहरूले उजुरी दिएका थिए ।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्