नेभिगेशन
नेपाल प्रहरी

नक्कली ट्रान्सक्रिप्ट प्रकरणका फरार प्रतिवादी पक्राउ

काठमाडौं । सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुर महानगरपालिका–३ आदर्शटोल बस्ने ६१ वर्षीय क्रोडी फ्रेच क्षेत्री भनिने फरदिनान्द भ्यालेन्टाईन फेट्ज पक्राउ परेका हुन् । आफ्नै छोरीको कक्षा ११ र १२ उत्तीर्ण भएको नक्कली ट्रान्सक्रिप्ट लगायतका कागजात तयार गरी सरकारी छाप दस्तखत कीर्ते गरेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

जिल्ला अदालत भक्तपुरको २०८२ वैशाख ३ गतेको फैसलाले उनलाई १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । फैसला पछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौं महानगरपालिका–९ तिलगंगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका फेट्जलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्