नेभिगेशन
नेपाल प्रहरी

टिकटकबाट महिलालाई ब्ल्याकमेल गरी पैसा असुल्ने युवक पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल, विशेषगरी टिकटक लगायतका प्लेटफर्म प्रयोग गरी महिलालाई ब्ल्याकमेल गर्दै आर्थिक लाभ लिने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थायी घर भएका २३ वर्षीय समिर तामाङ रहेका छन्। उनलाई काठमाडौँ महानगरपालिका–१३, कलंकी क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार तामाङले एक महिलाको व्यक्तिगत फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै पटक–पटक रकम असुल गर्ने गरेका थिए। ती सामग्री बाहिर ल्याइदिने डर देखाएर उनले पीडितबाट आर्थिक फाइदा उठाएको खुलेको छ।

पीडित महिलाले आफूलाई धम्की र हैरानी दिई पैसा असुलेको भन्दै साइबर ब्यूरोमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्राविधिक विश्लेषणका आधारमा अभियुक्तलाई पक्राउ गर्न सफल भएको ब्यूरोले जनाएको छ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार पक्राउ परेका तामाङमाथि काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्