नेभिगेशन
नेपाल प्रहरी

जन्मकैद सजाय पाएकी २५ वर्षीया युवती पक्राउ, आश्रय दिने २ जना पनि पक्राउ

काठमाडौं । अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र डाँका चोरीसम्बन्धी मुद्दामा जन्मकैद पाएकी  २५ वर्षीय युवतीलाई प्रहरीले पुनः पक्राउ गर्न सफल भएको छ। कारागारमा सजाय भोगिरहेकी नुवाकोट किस्पाङ गाउँपालिका–१३ की २५ वर्षीया सपना तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसहितको टोलीले पक्राउ गर्न सफल भएको हो।

जिल्ला अदालत रसुवाको फैसलाअनुसार उनी केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलस्थित महिला बन्दी सुधार गृहमा जन्मकैद भुक्तान गरिरहेकी थिइन्। गत शुक्रबार राति सुधार गृहको कम्पाउण्ड पछाडिको पर्खाल नाघेर फरार भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा नेपाल प्रहरी अनाश्रित गुल्म जगन्नाथदेवल सुन्धाराको सहयोगमा काठमाडौंको असन चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले फरार भएपछि उनलाई लुकाइछिपाइ राख्न सहयोग गरेको आरोपमा काठमाडौं असन बस्ने भोजपुर नगरपालिका–११ घर भएका ५५ वर्षीय मिन कुमार श्रेष्ठ र २७ वर्षीय समिर भन्ने सुवास श्रेष्ठलाई पनि पक्राउ गरेको छ।

पक्राउ परेकी सपना तामाङलाई कैद भुक्तानका लागि पुनः केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको छ। मिन कुमार र सुवासलाई भने थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जनसेवामा पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्