नेभिगेशन
सुरक्षा विशेष

राप्तीसोनारी गाउँपालिकाका कर्मचारी असुरक्षित, दोषीलाई कारबाही नभए कामकाज ठप्पको चेतावनी

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाका कर्मचारीहरूले गाउँपालिका कार्यालयभित्र कर्मचारीमाथि भएको दुर्व्यवहार तथा धम्कीपूर्ण गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन्।

जेठ १३ गते बुधबार दिउँसो करिब ३ बजे केही व्यक्तिहरू हुलहुज्जतसहित गाउँ कार्यपालिकाको कार्यालय, अगैयामा प्रवेश गरी कार्यालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहार गर्नुका साथै नियमित कामकारबाहीमा अवरोध सिर्जना गरेको घटमा कर्मचारी असुरक्षित महसुस गर्दै आज अध्यक्षसमक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

घटनापछि कर्मचारीहरूले सार्वजनिक सेवा प्रवाहलाई असर पर्ने गरी गरिने अभद्र व्यवहार, धम्की तथा अस्वाभाविक गतिविधि स्वीकार्य नहुने बताएका छन्। कानुनबमोजिम जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि कार्यस्थलमै पुगेर गरिने यस्ता गतिविधिले समग्र सार्वजनिक प्रशासन तथा सेवा प्रवाह प्रणालीमै नकारात्मक असर पार्ने उनीहरूको भनाइ छ।

कर्मचारीहरूले गाउँपालिका कार्यालयमा शान्ति, सुरक्षा तथा मर्यादित कार्य वातावरण कायम गर्न सबै सरोकारवालालाई संयमता अपनाउन आग्रह गरेका छन्। साथै घटनामा संलग्न पक्षमाथि कानुनी तथा प्रशासनिक कारबाही गरी सुरक्षित कार्य वातावरण निर्माण गर्न माग गरिएको छ।

ध्यानाकर्षण पत्रमा आवश्यक सुरक्षा तथा कार्य वातावरण सुनिश्चित नभए कर्मचारीहरू नियमित कामकाजमा फर्किन नसक्ने र थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्