नेभिगेशन
सुरक्षा अपडेट

अछाम जीप दुर्घटनामा दुई जनाको मृत्युु, ३ जना घाइते

काठमाडौं । अछाममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोड क्षेत्रमा दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको बा-प्र-०१–०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो।

प्रहरीका अनुसार बिहीबार साँझ भएको दुर्घटनामा  गम्भीर घाइते भएका मकवानपुरका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाका ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा मृत्यु भएको हो। दुवैलाई प्रारम्भिक उपचारपछि सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको थियो, जहाँ उनीहरुको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि अस्थायी प्रहरी पोष्ट बेल्खेतबाट खटिएको टोलीले उद्धार गरी घाइतेहरूलाई दैलेखको राकम कर्णाली आधारभूत अस्पताल पुर्‍याएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

दुर्घटनामा सिराहाका २७ वर्षीय सन्तकुमार साह र जीप चालक नेपालगन्ज बाँकेका २८ वर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ता गम्भीर घाइते भएका छन्। साथै स्याङ्जाका अर्जुनकुमार पौडेलको अवस्था मध्यम रहेको बताइएको छ।

जीप थापामोडबाट कुँजेडातर्फ जाने कच्ची सडक खण्डमा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी अछामले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्