काठमाडौं । प्रहरीले बाँके, दाङ, कैलाली, काठमाडौं, सुनसरी, पर्सा र कञ्चनपुरका विभिन्न स्थानबाट ब्राउन सुगर, खैरो हेरोइन तथा अन्य नियन्त्रित लागूऔषधसहित १९ जनालाई पक्राउ गरेको छ।
बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाबाट ७ सय २० मिलिग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैजनाथ–२ का ३१ वर्षीय यामबहादुर राना, चिसापानीका ३६ वर्षीय महेन्द्र मल्ल र २४ वर्षीय प्रदीप राना क्षेत्री रहेका छन्। यस्तै दाङको लमही नगरपालिका–३ टिकुलीगढबाट ३२ वर्षीय विष्णु चौधरीलाई ५ सय ८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौंको गोंगबु मित्रनगरबाट ६ ग्राम ४ सय ४० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजुसहित ४६ वर्षीय अर्जुनबहादुर भुजेल र २७ वर्षीय संजय गुरुङ पक्राउ परेका छन्। त्यस्तै रामहिटीबाट २९ वर्षीय सुजन लामालाई डाइजेपाम १ सय ४० एम्पुल, बुप्रेनोर्फिन १ सय ९ एम्पुल, फेनारगन १ सय ३४ एम्पुल तथा नगद १७ हजार ७ सय रुपैयाँसहित पक्राउ गरिएको छ।
कैलालीमा मात्रै विभिन्न स्थानबाट ८ जना पक्राउ परेका छन्। टीकापुर–९ खक्रौलाबाट ३१ वर्षीय दिनेश शाही ६ सय ३० मिलिग्राम खैरो हेरोइनसहित तथा सोही स्थानबाट २१ वर्षीय खकेन्द्र साउद ३ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। भजनी–६ विस्नापुरबाट ३ सय ४० मिलिग्राम खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।
यस्तै गोदावरी नगरपालिका–२ अत्तरीयाबाट २० ग्राम २ सय ४० मिलिग्राम खैरो हेरोइनसहित धर्मानन्द भट्टसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कैलालीका विभिन्न स्थानमा गरिएको कारबाहीमा ठूलो परिमाणमा लागूऔषध बरामद भएको छ।
पर्साको वीरगञ्ज महानगरपालिका–१५ त्रिशुल चोकबाट २१ वर्षीय ऋतिक साह ६ सय १० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चन्देवबाट २ सय ३० मिलिग्राम खैरो हेरोइनसहित अर्जुन धानुक र आशिष साउद पक्राउ परेका छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–७ लक्ष्मीचोकबाट २७ वर्षीय सुबबहादुर दाहाल ६ सय ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। त्यस्तै बराहक्षेत्र–५ बाट भारतको अररिया बेलाहाका २० वर्षीय दयानन्द यादवलाई ट्रामाडोल १ हजार ६ सय ९० ट्याब्लेट र नगद २७ हजार ५ सय रुपैयाँसहित पक्राउ गरिएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।