नेपालगन्ज । चोरी मुद्दामा एक जना चोर पक्राउ परेपछि उनको रहस्यमय योजना पर्दाफास भएको छ। चोरी गर्ने उद्देश्यले नयाँ–नयाँ साथी बनाउने, उनीहरूको विश्वास जित्ने र अवसर मिल्नासाथ मोबाइल, पर्स, नगद तथा अन्य बहुमूल्य सामान चोरी गरेर फरार हुने गरेको आरोप लागेका एक पेसेवर चोरलाई बाँके प्रहरीले पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको हो।
बाँके प्रहरीको सक्रियता र समन्वयात्मक प्रयासपछि ती पेसेवर चोरलाई सुर्खेतबाट नियन्त्रणमा लिएर बाँके ल्याइएको हो।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१० घर भएका “बिसु श्रेष्ठ” भनेर चिनाउँदै हिँड्ने बिसु खड्काले नेपालगन्जका विभिन्न स्थान तथा स्नुकर हाउसहरूमा नयाँ व्यक्तिहरूसँग चिनजान बढाउने गरेका थिए। प्रारम्भिक अनुसन्धानमा उनले मित्रता गाँसेर विश्वास जित्ने र त्यसपछि चोरीका घटना गर्ने शैली अपनाएको देखिएको प्रहरीले जनाएको छ।
जेठ १४ गते मिलन नामका एक युवकको जन्मदिन थियो। सो अवसरमा मिलन, उनका केही साथीहरू र बिसु नेपालगन्जस्थित स्नेहा होटलमा जन्मदिन मनाउन गएका थिए। राति अबेरसम्म रमाइलो गरेपछि सबै जना सोही होटलको एउटै कोठामा बसेका थिए।
तर जेठ १५ गते बिहान उठ्दा आफूलाई बिसु श्रेष्ठ बताउने व्यक्ति कोठामा थिएनन्। साथीहरूले होटलभित्र र वरपर खोजी गरे पनि उनको कुनै अत्तोपत्तो लागेन। त्यसपछि कोठामा रहेका मोबाइल फोन, पर्स र नगदसमेत हराएको थाहा पाएपछि उनीहरू झस्किएका थिए।
घटनाबारे होटल व्यवस्थापनलाई जानकारी दिएपछि सीसीटीभी फुटेज जाँच गरिएको थियो। फुटेजमा बिसु खड्का ना ४२ प ८६१५ नम्बरको एभेन्जर मोटरसाइकल लिएर होटलबाट बाहिरिँदै गरेको दृश्य देखिएपछि मात्रै उनीहरूले जन्मदिन मनाउन सँगै आएका नयाँ साथी वास्तवमा पेसेवर चोर रहेको चाल पाएका थिए।
प्रहरीका अनुसार बिसुले होटलबाट निस्कँदा साथीहरूका मोबाइल फोन, पर्स, नगद तथा मोटरसाइकल लिएर गएका थिए। मोटरसाइकल चोरी गरेर पूर्वतर्फ जाँदै गर्दा बाटोमा हुने चेकजाँचमा कागजात मागिए समस्या हुन सक्ने अनुमान गर्दै उनले राँझा चोक क्षेत्रमा मोटरसाइकल वेवारिसे अवस्थामा छोडेर मोबाइल फोन, पर्स र नगद रकम लिएर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। बर्दियाको बढैयाताल गाउँपालिका–१ निवासी अनोज मल्लले चोरी सम्बन्धी जाहेरी दर्ता गराएका थिए।
उजुरी प्राप्त हुनासाथ बाँके प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा काठमाडौं महानगरपालिका–१० बस्ने बिसु खड्कालाई जेठ १७ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा वीरेन्द्रनगर नगरपालिका–१० बाट पक्राउ गरी बाँके ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
पक्राउ परेका खड्कालाई बाँके ल्याएर थप अनुसन्धान थालिएको छ। बाँके जिल्ला अदालतबाट चोरी मुद्दामा पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिसुले अनुज मल्लको एक तोला सुनको सिक्री, एक थान मोबाइल र २० हजार रुपैयाँ नगद, मिलन बिष्टको एक थान मोबाइल तथा सन्जोकराज शाहीको दुई थान मोबाइल र २५ हजार रुपैयाँ नगद चोरी गरेका थिए। उनी फरार हुँदा प्रयोग गरेको एभेन्जर मोटरसाइकलसमेत अनुज मल्लकै रहेको प्रहरीले जनाएको छ।
बाँके प्रहरीले बिसुबाट ठगिएका वा चोरीको शिकार भएका अन्य व्यक्तिहरूलाई सम्पर्कमा आएर उजुरी दिन आग्रह गरेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनले यसअघि पनि बाँके तथा अन्य जिल्लाहरूमा यस्तै प्रकृतिका घटना गरेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। घटनाको थप तथ्य पत्ता लगाउन प्रहरीले सम्बन्धित छिमेकी जिल्लाका प्रहरी कार्यालयहरूसँग समेत समन्वय गरी जानकारी संकलन गरिरहेको छ।