नेभिगेशन
नेपाल प्रहरी

बर्दिया प्रहरीको सक्रियता: लाखौंको अवैध सामान बरामद, कुखुरा नष्ट र गुण्डागर्दी आरोपी पक्राउ

बर्दिया।  बर्दिया प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका लाखौं रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ भने अवैध रूपमा ल्याइएका बोइलर कुखुरा नष्ट गर्नुका साथै गुण्डागर्दी शैलीमा कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार जेठ १६ गते इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–२ स्थित आरा मिल नजिक भारततर्फको सीमा नाकाबाट भन्सार छली गरी ल्याइ लुकाइछिपाइ राखिएको विभिन्न सामान बरामद गरेको हो। बरामद सामानमा धानको बीउ, बिडी, सुर्ती, प्लास्टिक डोरी, ललिपप तथा विभिन्न परिमाणका पेय पदार्थ रहेका छन्। ती सामानको अनुमानित बजार मूल्य १ लाख २९ हजार ११० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद अवैध सामान आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय, गुलरिया पठाइएको छ।

त्यसैगरी सोही दिन लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय बर्दिया तथा प्रहरी चौकी जमुनीबाट खटिएको संयुक्त टोलीले बढैयाताल गाउँपालिका–२ फुटाह क्षेत्रबाट भारतबाट भन्सार छली गरी ल्याइ लुकाइछिपाइ राखिएको ३२ बोरा अर्थात् १ हजार ६ सय केजी चिनी बरामद गरेको छ। उक्त चिनीको अनुमानित मूल्य १ लाख १२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद चिनी पनि आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय पठाइएको छ।

यस्तै, जेठ १८ गते इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–३ भोलागौडीस्थित नहर किनारबाट भारतबाट अवैध रूपमा ल्याइ लुकाइछिपाइ राखिएको बोइलर कुखुरा फेला पारेको थियो। करिब ३१ हजार २०० रुपैयाँ मूल्य बराबरका ती कुखुरा स्थानीय जनप्रतिनिधि, पशुचिकित्सक तथा स्थानीयवासीको रोहबरमा मुचुल्का गरी खाल्डो खनी पुरी नष्ट गरिएको बर्दिया  प्रहरीले जनाएको छ।

उता, मधुवन नगरपालिका–८ गाउँ नम्बर ५ निवासी ३८ वर्षीय रोशन खड्का क्षेत्रीलाई गुण्डागर्दी शैलीमा कुटपिट गरी स्थानीयलाई दुःख–हैरानी दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। स्थानीयवासीलाई अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने तथा कुटपिट गर्ने गरेको सूचनापछि इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको टोलीले उनलाई जेठ १७ गते साँझ आफ्नै घरमा बसेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका खड्कालाई इलाका प्रहरी कार्यालय ढोढरीमा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्