नेभिगेशन
नेपाल प्रहरी

वैदेशिक रोजगारीका नाममा ४५ लाखभन्दा बढी ठगी, चार जना पक्राउ

काठमाडौं । आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरेको आरोपमा चार जनाविरुद्ध अनुसन्धान अघि बढाइएको छ।

पीडितहरूको उजुरीका आधारमा गरिएको अनुसन्धानमा जापान, माल्टा र सर्बिया पठाइदिने आश्वासन दिएर विभिन्न व्यक्तिबाट रकम लिई सम्पर्कविहीन भएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जापान पठाइदिने भन्दै २५ जना पीडितबाट कुल ४० लाख ३० हजार रुपैयाँ असुलिएको थियो। त्यसैगरी माल्टा पठाइदिने भन्दै एक जनाबाट २ लाख ३० हजार रुपैयाँ र सर्बिया पठाइदिने भन्दै दुई जनाबाट ३ लाख रुपैयाँ लिइएको आरोप छ।

उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले सम्बन्धित व्यक्तिहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान थालेको हो।

प्रहरीका अनुसार घटनासम्बन्धी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित व्यक्तिहरूलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्