नेभिगेशन
नेपाल प्रहरी

'जीर्ण प्रहरी चौकीका कारण सुरक्षा संयन्त्रमै चुनौती, २६३ जीर्ण चौकी पुनर्निर्माणको प्रतीक्षामा'

काठमाडौँ ।  देशभरका सयौँ प्रहरी चौकी जीर्ण बन्दै जाँदा सुरक्षा निकायको दैनिक कार्यसम्पादन प्रभावित हुन थालेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले २६३ स्थायी प्रहरी चौकी मर्मत वा पुनर्निर्माण आवश्यक अवस्थामै रहेको जानकारी दिएका छन्।

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उनले सीमावर्ती र संवेदनशील क्षेत्रका केही चौकीहरू जोखिमपूर्ण अवस्थामा रहेको बताए। पर्याप्त बजेट नहुँदा ती संरचनाको सुधार कार्य अघि बढ्न नसकेको उनको भनाइ छ।

उनका अनुसार प्रहरी कर्मचारीहरू कतिपय स्थानमा जीर्ण भवनमै बस्न र सेवा दिन बाध्य छन्। स्थानीय तह र संघीय निकायबीच समन्वय हुन सके प्रहरी आवास तथा कार्यालय व्यवस्थापनमा सुधार आउन सक्ने अपेक्षा गरिएको छ।

बैठकमा कार्कीले बाजुरा–हुम्ला सीमाक्षेत्रमा हालै देखिएको विवादबारे पनि धारणा राखे। उनले उक्त क्षेत्रमा निर्माण गर्न खोजिएको अस्थायी प्रहरी चौकीका सम्बन्धमा प्रहरी प्रधान कार्यालयमा कुनै औपचारिक प्रस्ताव वा स्वीकृतिको प्रक्रिया नपुगेको बताए। प्रदेश सरकारले बजेट विनियोजन गरे पनि प्रहरी संगठनसँग आवश्यक समन्वय नभएको उनको भनाइ थियो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्