नेभिगेशन
नेपाल प्रहरी

लाखौं नगदसहित दुई जना विमानस्थलबाट पक्राउ

काठमाडौं । २४ लाख ५९ हजार रुपैयाँ, अमेरिकी डलर १ हजार र मलेसियन रिङ्गिट २० हजारसहित दुई बंगलादेशी नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताज अली र ५० वर्षीय एमडी जाकिर हुसेन रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज जाँच क्षेत्रबाट विभिन्न विदेशी मुद्रा तथा नेपाली रुपैयाँ अवैध रूपमा बाहिर लैजान लागेको आरोपमा उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

बाटिक एयरमार्फत काठमाडौंबाट मलेसिया जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा मोहम्मद इन्ताज अलीको साथबाट स्रोत नखुलेको नेपाली १० लाख २५ हजार रुपैयाँ बरामद भएको थियो। त्यस्तै, एमडी जाकिर हुसेनको साथबाट स्रोत नखुलेको नेपाली १२ लाख ३४ हजार रुपैयाँ, अमेरिकी डलर १ हजार तथा मलेसियन रिङ्गिट २० हजार फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्