नेभिगेशन
नेपाल प्रहरी

आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ४ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बस्ने सुर्खेतका ३४ वर्षीय सुनिल पौडेल, भक्तपुर नगरपालिका–१ बस्ने सिन्धुपाल्चोकका २२ वर्षीय अनुप भण्डारी, ललितपुर महानगरपालिका–१५ बस्ने जाजरकोटकी ३४ वर्षीया कबिता सिंह तथा काठमाडौं चन्द्रागिरी नगरपालिका–११ बस्ने धादिङका २५ वर्षीय बिशु राई रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार सुनिलले पोल्याण्ड पठाइदिने भन्दै तीन जनाबाट २४ लाख १७ हजार रुपैयाँ, अनुपले कुक आइसल्याण्ड पठाइदिने भन्दै एक जनाबाट ३५ लाख ५० हजार रुपैयाँ, कबिताले अमेरिका पठाइदिने भन्दै एक जनाबाट ३ लाख ७२ हजार रुपैयाँ तथा बिशुले क्रोएसिया पठाइदिने भन्दै चार जनाबाट ३ लाख ५० हजार रुपैयाँ असुलेको आरोप छ।

रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्