नेभिगेशन
नेपाल प्रहरी

३० हजार ट्रामाडोलसहित तीन पक्राउ, कार भाग्दा प्रहरीले चलाएको थियो गोली

काठमाडौं । ठूलो परिमाणको लागुऔषध ट्रामाडोल नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ। उक्त घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष सूचनाको आधारमा गरेको कारबाहीका क्रममा एक राउन्ड गोलीसमेत प्रहार गरेको जनाएको छ।

प्रहरीका अनुसार बाराको सिम्रौनगढबाट काठमाडौँतर्फ आउँदै गरेको एउटा कारमार्फत लागुऔषध ओसारपसार भइरहेको सूचनापछि निगरानी बढाइएको थियो। त्यसक्रममा ललितपुर महानगरपालिका–२३ गैरी गाउँ क्षेत्रबाट नख्खुतर्फ जाँदै गरेको कार र त्यसको साथमा रहेको मोटरसाइकललाई रोक्न खोज्दा चालक तथा सवार व्यक्तिहरूले प्रहरीको निर्देशन नमानेर भाग्ने प्रयास गरेका थिए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले कारको पछाडिको टायरमा एक राउन्ड गोली प्रहार गरेको थियो। त्यसपछि दुवै सवारी साधन नियन्त्रणमा लिएर गरिएको जाँचका क्रममा कारको डिक्कीभित्र लुकाएर राखिएको ३० हजार क्याप्सुल ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ।

कारबाहीका क्रममा प्रहरीले लागुऔषधसहित एउटा सुजुकी कार, एफजेड मोटरसाइकल तथा पाँच थान मोबाइल फोन पनि बरामद गरेको छ।

घटनामा संलग्न भएको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका–३ निवासी ३५ वर्षीय जितेन्द्र पासवान तथा भारतको बिहार राज्य सीतामढीका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महम्मद सदामलाई पक्राउ गरिएको छ।

प्रहरीले पक्राउ परेका तीनै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्